मंगलबार, ९ मङ्सिर, २०८३ (1795457700)
मंगलबार मङ्सिर ९, २०८३

सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको पानी प्रशोधन उद्योगको शिलान्यास  

सोलुखुम्बु :   सोलुदुधकुण्ड नगरपालिकामा जापानी लगानीमा पानी प्रशोधन उद्योगको शिलान्यास गरिएको छ । नगरपालिकालाई आर्थिक रूपमा सबल, समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्यसहित स्थापना हुन लागेको उक्त उद्योगको मंगलबार शिलान्यास गरिएको हो । हिमालयन एभरेष्ट वाटर प्रा लि मार्फत जापानको ५ अर्ब ६० करोड रुपैयाँ लगानीमा स्थापना हुन लागेको उद्योगले वार्षिक १० करोड ८० लाख लिटर पानी प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखेको छ ।

  नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाका अनुसार उद्योग सञ्चालनमा आएपछि नगरपालिकाले वार्षिक १० करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त गर्नेछ। यसका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै सामाजिक त्तरदायित्वअन्तर्गतका कार्यक्रम, वातावरण संरक्षण तथा पानीका स्रोतहरूको दिगो व्यवस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। उक्त आयोजनाबाट स्थानीय तहले राजस्व प्राप्त गर्नुका साथै नेपाल सरकारले प्रचलित कानुनअनुसार मूल्य अभिवृद्धि कर भ्याट र रोयल्टीसमेत प्राप्त गर्ने नगरप्रमुख शेर्पाले जानकारी दिनुभयो।

   उहाँले एउटै आयोजनाबाट नगरपालिकाले वार्षिक झण्डै ११ करोड रुपैयाँ राजस्व प्राप्त गर्नु नगरको आर्थिक समृद्धि र आत्मनिर्भरताका दृष्टिले महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो। यसले नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्नुका साथै विकास निर्माणका लागि थप आर्थिक आधार तयार गर्ने उहाँको भनाइ छ ।     नगरप्रमुख शेर्पाले यस आयोजनालाई एउटा उद्योग स्थापनामा मात्र सीमित नराखी सोलुदुधकुण्ड नगरपालिकाको आर्थिक समृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भरतातर्फको महत्त्वपूर्ण प्रस्थानबिन्दुका रूपमा व्याख्या गर्नुभएको छ ।