आइतबार, ३० कार्तिक, २०८३ (1794593700)
शनिबार कार्तिक २९, २०८३

माप्य दुधकोशीमा ’एभरेस्ट भ्यू ट्रेल रेस’ को तेस्रो संस्करण र फन रन प्रतियोगिता हुदै 

सोलुखुम्बु  :  माप्य दुधकोशी गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको ‘एभरेस्ट भ्यू ट्रेल रेस’को तेस्रो संस्करण आयोजना हुने भएको छ । पर्यटन प्रवद्र्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा आगामी मङ्सिर १७ गते ४८ किलोमिटर दूरीको ट्रेल रेस आयोजना गर्न लागिएको हो।    प्रतियोगितामा १८ वर्षदेखि २९ वर्ष, ३० वर्षदेखि ४९ वर्ष, ५० वर्ष वा सोभन्दा माथि र खुल्ला गरी मुख्य चार वटा विधामा महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा गराइनेछ । खुल्ला विधाका लागि न्यूनतम १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ भने खुल्ला तर्फ भाग लिने खेलाडीले अन्य उमेर समूहमा सहभागी हुन नपाउने गाउँपालिकाले जानकारी दिएको छ । 
   प्रतियोगितामा खुल्ला विधातर्फ प्रथम हुने महिला तथा पुरुष खेलाडीले जनही नगद एक लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी द्वितीय हुनेले नगद ९० हजार रुपैयाँ, तृतीय हुनेले नगद ६० हजार रुपैयाँ र चौथो स्थानदेखि बाह्रौँ स्थानसम्म हासिल गर्ने प्रतिस्पर्धीहरूले जनही नगद दुई हजार चार सय रुपैयाँका साथ मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्।

 त्यस्तै, १८ देखि २९ वर्ष, ३० देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका तीनवटै उमेर समूहका महिला तथा पुरुष दुवैतर्फ प्रथम हुनेले जनही नगद २४ हजार रुपैयाँ, द्वितीय हुनेले १८ हजार रुपैयाँ र तृतीय हुनेले १२ हजार रुपैयाँका साथमा मेडल र प्रमाण–पत्र हात पार्नेछन्। सबै विधाका नगद पुरस्कारमा प्रचलित कानुनअनुसार १५ प्रतिशत कर कट्टी गरिनेछ।  प्रतियोगितामा नेपालीका साथै विदेशी नागरिकहरूले पनि निःशुल्क रूपमा भाग लिन सक्नेछन्। इच्छुक खेलाडीहरूले मङ्सिर १५ गतेसम्म आफ्नो नागरिकता वा आधिकारिक परिचयपत्रसहित गाउँपालिकाको कार्यालयमा उपस्थित भई वा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट  मार्फत अनलाइन नाम दर्ता गराउन सक्नेछन्।

   रेसमा सहभागी हुने खेलाडीहरू मङ्सिर १७ गते बिहान ६ः०० बजेभित्र निर्माणाधीन कोर्कु रङ्गशालामा उपस्थित भइसक्नुपर्नेछ भने रेस सोही दिन बिहान ७ः०० बजे सोही स्थानबाट सुरु हुनेछ ।  फन रन प्रतियोगिता ५ किलोमिटरको हुने छ । उक्त दौडमा ‘एभरेस्ट भ्यू ट्रेल रेस’ मा सहभागीहरुले भने सहभागिता जनाउन नपाउने गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनुभयो । खुल्ला प्रतियोगिता भएकाले मंसिर १५ गतेसम्म नाम दर्ता गराउनुहुन पालिकाले आग्रह गरेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई १० हजार, ७ हजार र ५ हजारको साथमा  मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।