मंगलबार, २५ कार्तिक, २०८३ (1794248100)
मंगलबार कार्तिक २५, २०८३

सगरमाथाको प्रवेशद्धार लुक्ला पर्यटकले भरिभराउ, दैनिक २ सयसम्म उडान 

सोलुखुम्बु :    सगरमाथा क्षेत्रको मुख्य प्रवेशद्वार लुक्ला यतिबेला आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ छ । सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प), नाम्चे बजार, गोक्यो ताललगायतका हिमाली गन्तव्यमा पुग्ने पर्यटकको आवागमन बढेसँगै लुक्लामा चहलपहल बढेको हो। सगरमाथा क्षेत्रको पदयात्राका लागि शरद ऋतु (सेप्टेम्बरदेखि नोभेम्बर) र वसन्त ऋतु (मार्चदेखि मे) मुख्य पर्यटकीय सिजन मानिन्छन्। मनसुनपछि मौसम खुल्ने, हिमालको दृश्य स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले शरद ऋतुमा विदेशी पर्यटकको आगमन बढी हुन्छ । 

वसन्त ऋतुमा भने पदयात्रासँगै सगरमाथा आरोहणका लागि आउने आरोही र सहयोगी टोलीको चहलपहल पनि बढ्छ । लुक्लाबाट पर्यटकहरू नाम्चे बजार हुँदै एभरेस्ट बेस क्याम्प, कालापत्थर र गोक्यो ताललगायतका गन्तव्यतर्फ जाने गर्छन्। पदयात्राका लागि समय कम भएका तथा दुर्गम हिमाली क्षेत्रको दृश्यावलोकन गर्न चाहने पर्यटकले हेलिकोप्टरसमेत प्रयोग गर्ने गरेका छन्। लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलका वरिष्ठ एटीसी अधिकृत अमनचन्द्र झाका अनुसार अहिले दैनिक करिब २ सय उडान हुने गरेका छन्। पर्यटकीय सिजनको उच्च चाप (पिक सिजन) मा भने दैनिक ४ सयसम्म उडान हुने गरेको उनले जानकारी दिनुभयो ।