पश्चिमी वायु सक्रिय हुँदै, आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन्।
नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि आइतबारदेखि भने पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आउनेछ।
आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपात हुनसक्ने अनुमान छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुने र वागमती तथा कोशी प्रदेशका पहाडी भूभागमा पनि छिटपुट वर्षा हुनसक्ने मौसमविद् पोखरेलले बताइन्।
वर्षासँगै केही स्थानमा असिना, मेघगर्जन र चट्याङको सम्भावना रहेकाले किसानलाई सावधानी अपनाउन उनको आग्रह छ। विशेषगरी खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पु¥याउन सक्ने भएकाले मौसम हेरेर बाली भित्र्याउनुपर्ने उनले बताइन्।
‘धानबाली र पराल सुरक्षित राख्न आवश्यक सावधानी अपनाउनुपर्छ,’ मौसमविद् पोखरेलले भनिन्। उनका अनुसार अहिले सक्रिय हुन लागेको मौसमी प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको छैन। यसबाट भारी वर्षाको सम्भावना नरहेको र अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुनसक्छ।
पश्चिमी न्यूनचापीय प्रणाली छिटो गतिमा एक स्थानबाट अर्को स्थानतर्फ सर्ने भएकाले केही समय वर्षा गराएर पार हुने प्रकृतिको हुन्छ। असिना पनि सबै क्षेत्रमा नभई निश्चित स्थानमा मात्रै पर्ने सम्भावना रहने उनले बताइन्। हिउँदमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले सकारात्मक प्रभावसमेत पार्न सक्ने उनको भनाइ छ।
यस वर्ष एल निनोको प्रभावका कारण मनसुनमा कम वर्षा हुनसक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको पोखरेलले बताइन्। एल निनोको प्रभाव मनसुन र हिउँदमा फरक हुने भएकाले मनसुनमा जस्तै हिउँदमा पनि सुक्खा हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनले स्पष्ट पारिन्। विभागले जारी गर्ने मौसम पूर्वानुमान तथा परामर्श नक्सा नियमित हेर्न र विशेषगरी पहेँलो सङ्केत भएका क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी सूचनामा ध्यान दिन उनले आग्रह गरेकी छन्।
ताजा खबर
सबै- लिखुपिकेका तीन विद्यालयका विद्यार्थीलाई न्यानो ज्याकेट वितरण
- पश्चिमी वायु सक्रिय हुँदै, आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
- छठ अन्तर्गत ‘उदाउँदो सूर्यलाई अघ्र्य दिने’ दिन पनि सार्वजनिक बिदा
- सोलुखुम्बुमा नेपाल टेलिकमको फाइबर इन्टरनेट २ दिनदेखि अवरुद्ध
- सोलुखुम्बु : यस बर्षको दशैँ तिहार शान्तिपूर्ण वातावरणमा सम्पन्न


2026-11-13-04-44-28.jpeg)



