शुक्रबार, २१ कार्तिक, २०८३ (1793902500)
शुक्रबार कार्तिक २१, २०८३

दुधकोशी नदिको खोँचमा एक शव फेला, सशस्त्र र प्रहरीद्धारा निकाल्यो  

 सोलुखुम्बु :  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ लेम्चीस्थित दुधकोशी नदीको बीचमा एक पुरुषको मृत शव फेला परेको छ । मृतक सोही स्थानका ४०  वर्षीय तिलक राई रहेको पहिचान खुलेको छ ।
कार्तिक १९ गते दिउँसो २ः०० बजेको समयमा दुधकोशी नदीको किनाराबाट करिब १० मिटर पानीको बीचमा ढुङ्गाको चेपमा मानिसको शव रहेको जानकारी प्राप्त भएको थियो ।  खबर पाउनासाथ तत्कालै प्रहरी चौकी बासाबाट प्रहरी सहायक निरीक्षक जेक्सन राईको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको समन्वयमा उक्त शव निकाल्ने प्रयास गरिए पनि प्राविधिक कठिनाइका कारण शव निकाल्न नसकिएपछि आज थप टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 
सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर सोलुखुम्बुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक फुरी शेर्पाको कमाण्डमा ९ जना ५ जना विपद् व्यवस्थापन टोलीे आवश्यक उपकरणसहित खटिएको थियो। साथै, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक मौसम तामाङको कमाण्डमा  थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि घटनास्थल पुगेको थियो।
सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले स्थानीयको सहयोगमा आज दिउँसो करिब ३ बजे नदीको चेपबाट शवको सफल उद्धार गरेको सशस्त्र प्रहरी बल सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुरज पाण्डेयले जानकारी दिनुभयो ।