जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको भवन हस्तान्तरण
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पताल भवनको प्रमाणपत्र बिहीबार सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका प्रमुख इन्जिनियर सुरज पौडेलले जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. पुस्कल राईलाई हस्तान्तरण गर्नुभएको हो ।
वि.सं. २०७८ असार–२४ गते सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरिएको अस्पताल भवन ३० महिनाभित्र सक्नेगरी निर्माण सुरु गरिएको थियो । निर्माण कम्पनी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले निर्माणको जिम्मा लिएको लिफ्ट प्रविधिसहितको चारतले आरसिसि ढलानसहितको अस्पताल भवन समयमा सम्पन्न नभएपछि निर्माण व्यवसायी सुनिल राईले जिम्मा लिएर निर्माण गरेपछि सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई हस्तान्तरण गरेको थियो ।
सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले औपचारिकरुपमा ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेसँगै तिहारपछि सेवा शुभारम्भ गर्ने तयारी गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले जानकारी दिनुभएको छ । “सुविधा सम्पन्न अस्पताल भवनका लागि आवश्यक सामग्री जठान गर्न बाँकी छ । तिहारपछि सबै सामग्री जडान गरेर ५० शय्याको सेवा शुभारम्भ गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “सेवा सञ्चालन भएपछि उपचारका लागि कोही पनि अन्यत्र जानुपर्दैन । अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ । बिगतमा जस्तो सामान्य बिरामीको उपचारकै लागि जिल्लावासीले हेलिकोप्टर चार्टर गर्नका लागि सिरानीमा पैसा राखेर बस्नु पर्दैन ।”
पटक–पटक ताकेता गर्दा समेत निर्माण कम्पनीले अटेर गरेपछि कारबाहीको प्रक्रिया सुरु भएपछि निर्माण कम्पनीले जिल्लाकै निर्माण व्यवसायी सुनिल राईलाई जिम्मा दिएको थियो । तुवाचुङ कन्ट्रक्शन प्रा.लि.का प्रबन्ध÷निर्देशकसमेत रहनुभएका निर्माण व्यवसायी राईले निर्माणको जिम्मा लिनुभएपछि लामो समयसम्म अलपत्र बनेको सुविधा सम्पन्न अस्पताल भवनको काम सम्पन्न भएको हो ।
लामो समयसम्म अलपत्र अवस्थामा रहेको अस्पताल भवन निर्माणका लागि सबै पक्षले गरेको सहयोगप्रति सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका प्रमुख इन्जिनियर पौडेलले धन्यवाद व्यक्त गर्नुभएको छ । आफू निर्माण व्यवसायी भएर आफ्नै जिल्लाको अस्पताल भवन निर्माण गर्न पाउँदा खुसी लागेको निर्माण कम्पनीका प्रतिनिधि राईले बताउनुभएको छ ।
वि.सं. २०४९ वैशाख–१ गते १५ शय्याको सेवा उपलब्ध गराउनेगरी स्थापना गरिएको जिल्ला अस्पताललाई वि.सं. २०८२ असार–२२ गते ५० शय्याको सेवा शुभारम्भ गरिएको थियो । अस्पताल भवन निर्माण सम्पन्न नहुँदै सबै प्रकारका बिरामीहरूको उपचार सेवा जिल्लामै उपलब्ध गराउने भन्दै कोशी प्रदेश सरकारका तत्कालीन स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गर्नुभएको हो ।






