१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो आरोहीको कीर्तिमान नेपाली पर्वतारोही निमारिन्जी शेर्पाले कायम गरेका छन्। १८ वर्ष पाँच महिनाको उमेरमै उनले विश्वका १४ वटै अग्ला हिमालको सफल आरोहण पूरा गर्दै पर्वतारोहण क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।तिब्बतमा अवस्थित आठ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमालको सफल आरोहणसँगै निमारिन्जीले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
उनले सन् २०२४ अक्टोबर ९ तारिखमा शिशापाङ्माको शिखरमा पाइला टेकेका थिए। निमारिन्जीले सन् २०२२ सेप्टेम्बर ३० मा आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्दै आफ्नो पर्वतारोहण यात्रा सुरु गरेका थिए। त्यसपछि सन् २०२३ मे २४ मा एकै दिन विश्वको सर्वोच्च शिखर सगरमाथा र आठ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहण गरेका थिए। त्यसैगरी सन् २०२३ जुन २६ मा नङ्गा पर्वत, जुलाई १८ मा ग्यासरब्रुम–१, जुलाई १९ मा ग्यासरब्रुम–२, जुलाई २३ मा ब्रोड पिक र जुलाई २७ मा विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गरेका थिए। उनले सोही वर्ष अक्टोबर ६ मा चोयु र सेप्टेम्बर २९ मा धौलागिरि हिमालको समेत सफल आरोहण गरेका थिए।
उनको आरोहण यात्रा सन् २०२४ मा पनि निरन्तर रह्यो। सन् २०२४ अप्रिल १२ मा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अतिरिक्त अक्सिजन प्रयोग नगरी आरोहण गरेका उनले मे ४ मा मकालु र जुन ८ मा कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका थिए। अन्ततः अक्टोबर ९ मा शिशापाङ्मा आरोहण गरेसँगै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने अभियान पूरा गरेका हुन्। निमारिन्जीले आफ्नो यस ऐतिहासिक उपलब्धि शेर्पा समुदायलाई समर्पण गरेका छन्। आगामी पुस्ताका शेर्पाहरूलाई आफ्नो पहिचान, संस्कृति र पुर्खाको पर्वतारोहण विरासतप्रति गर्व गर्न तथा विश्व पर्वतारोहण क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गर्नु आफ्नो उद्देश्य रहेको उनले बताएका छन्।सानै उमेरमा विश्वका सबै १४ अग्ला हिमाल आरोहण गरेर निमारिन्जीले नेपाली पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थपेका छन्। उनको यो उपलब्धिले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको पहिचान थप स्थापित गर्नुका साथै युवा पुस्तालाई साहस, सङ्कल्प र निरन्तर प्रयासका लागि प्रेरणा प्रदान गरेको छ।
ताजा खबर
सबै- १८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा
- देउसी–भैलो खेल्ने समयसीमा नतोक्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन
- सोलुदुधकुण्ड नगरपालिकाको निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न
- तिहारको चौथो दिन आज गाईपूजा गरिँदै
- सोलुखुम्बु झिलिमिली बत्तीको व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ






