सोमबार, २४ कार्तिक, २०८३ (1794161700)
सोमबार कार्तिक २४, २०८३

सोलुदुधकुण्ड नगरपालिकाको निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न

सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिकाको  निर्माणाधीन प्रशासकीय भवन हाल द्रुत गतिमा अगाडि बढिरहेको छ । समग्र निर्माणको करिब  ९५% पूरा भएको निर्माण कम्पनीका प्रतिनिधि प्रलाद राजबंशीले जानकारी दिनुभयो । केही दिनभित्रै सम्पूर्ण संरचना कार्य सम्पन्न गर्ने तयारी भइरहेको छ । चार तले भवनको अहिले झ्याल–ढोका, वाल प्लास्टर तथा फिनिशिङ कार्य पूरा भइसकेको छ । निर्माण कम्पनीका अनुसार तय गरिएको समयभित्रै सम्पूर्ण काम सम्पन्न गर्न मानवशक्ति तथा उपकरणहरूको व्यवस्थापन अझ प्रभावकारी बनाइएको छ । सो भवन निर्माण कार्य  २०८१ साल पुस २ गतेदेखि आरम्भ गरिएको हो। 
गत वर्ष पुस १४ गते पुर्व शहरी विकास तथा पूर्वाधार मन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गर्नुभएको थियो। ७ करोड १४ लाख १९ हजार ३ सय ६३ रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त भवन निर्माणका लागि २०८१ साल कात्तिक ५ गते आर.एम.सी. पी.आर.एच.बी. जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार निर्माण कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ । नगरवासीहरूले अपेक्षा गरेको आधुनिक र सुदृढ संरचना निर्माणको लक्ष्य पूरा गर्न अहिले भइरहेको गति सन्तोषजनक देखिएको छ ।  सोलुदुधकुण्ड नगरपालिका प्रशासनले यो भवन पूर्ण सञ्चालनमा आएपछि सेवाग्राहीले झनै सहज, छरितो र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरेको छ ।