सगरमाथा क्षेत्रमा हिमपात सुरु, तल्लो क्षेत्रमा वर्षा, सवाधानी अपनाउन प्रशासनको अपिल
सोलुखुम्बुको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको छ । आज बिहानबाट मौसममा आएको बदलीका कारण सगरमाथा क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा पानी पर्न सुरु भएको हो । अहिले गोक्यो लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । मौसममा आएको परिवर्तनसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले उच्च हिमाली क्षेत्रमा आवश्यक सतर्कता अपनाउन थालेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवातको प्रभावले विशेषगरी माथिल्लो खुम्बु क्षेत्रमा प्रतिकूल मौसम निम्त्याउन सक्ने पूर्वानुमान गरेपछि प्रशासनले पूर्वतयारीमा जोड दिएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त मौसमी बुलेटिनका आधारमा आगामी दुई दिनसम्म माथिल्लो खुम्बु क्षेत्रमा पदयात्रा, हवाई गतिविधि तथा हिमाल आरोहणलगायतका गतिविधि रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपहिरो, हिमआँधी तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढ्न सक्ने भएकाले पर्यटक, पथप्रदर्शक तथा स्थानीय बासिन्दाको सुरक्षालाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ। सम्भावित जोखिमबाट जोगिन खुम्बु पासाङल्हामु गाउँपालिका तथा अन्य सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र पर्यटकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आज बिहानसम्म नाम्चे बजारभन्दा माथिल्लो क्षेत्रमा ७३० जनाभन्दा बढी पर्यटक पुगेका छन्।
प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै उनीहरूलाई पछिल्लो मौसमी अवस्थाबारे जानकारी गराउने तथा नाम्चे बजार र आसपासका सुरक्षित स्थानतर्फ ल्याउने क्रम जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी थापा मगरले पर्यटकको सुरक्षा सुनिश्चित गर्न प्रहरीसहित अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिनुभयो। मौसमको अवस्था र सम्भावित जोखिमलाई निरन्तर निगरानीमा राख्दै आवश्यक सुरक्षा तथा उद्धारका लागि सम्बन्धित निकायलाई सतर्क रहन भनिएको उहाँको भनाइ छ । सगरमाथा क्षेत्र पदयात्रा तथा हिमाल आरोहणका लागि देशविदेशका पर्यटक पुग्ने प्रमुख गन्तव्य हो।
मौसममा अचानक परिवर्तन हुँदा उच्च हिमाली क्षेत्रमा यात्रा गरिरहेका पर्यटक जोखिममा पर्न सक्ने भएकाले प्रशासनले आगामी दुई दिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ । प्रशासनले मौसमको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न, सम्बन्धित निकायको निर्देशन पालना गर्न तथा प्रतिकूल मौसममा जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ ।
ताजा खबर
सबै- सगरमाथा क्षेत्रमा हिमपात सुरु, तल्लो क्षेत्रमा वर्षा, सवाधानी अपनाउन प्रशासनको अपिल
- सोलुखुम्बुमा ६ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
- कालिका देवी माध्यमिक विद्यालयमा शिक्षक तथा कर्मचारीद्वारा श्रमदान
- नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
- सोलुदुधकुण्डले गर्यो भोटेकोशी बाढीमा बेपताको सुचि सार्वजनिक, दावी विरोध पेश गर्न आग्रह






