मंगलबार, १८ कार्तिक, २०८३ (1793643300)
मंगलबार कार्तिक १८, २०८३

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसक्यो : क्यान

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ। क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ।  “दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको निधन भएको छ ।
 दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा प्राधिकरण हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । दुर्घटनामा घाइते हुनुभएका न्यूजील्याण्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना समेत गरिएको छ । 

आज बिहान ८ः१२ बजे सोलुखुम्बुको फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टीको नाइन एन—एओडी र फिस्टेल एयरको नाइन एन–एजेआर  हेलिकप्टरहरू दुर्घटनामा परेका थिए। दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा दुई विदेशी नागरिक सवार थिए। दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा ल्याइएको छ। साथै मृतक भारतीय नागरिकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको क्यानले जानकारी दिएको छ ।