सोमबार, २४ कार्तिक, २०८३ (1794161700)
सोमबार कार्तिक २४, २०८३

सोलुखुम्बुमा तीन वर्षमा फापर उत्पादनमा बृद्धि

 सोलुखुम्बु :  सोलुखुम्बुमा तीन वर्षमा फापर  को खेतीमा निरन्तर सुधार देखिएको छ। कृषकहरूको मेहनत, समयमै वर्षा, र स्थानीय तहको कृषि प्रोत्साहन कार्यक्रमका कारण जिल्लाको फापर उत्पादन क्रमिक रूपमा बढ्दै गएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
 आर्थिक वर्ष २०७९÷८० मा सोलुखुम्बुमा कुल ३०१ हेक्टर क्षेत्रमा फापर खेती गरिएको थियो, जसबाट २७५.४९ मेट्रिक टन उत्पादन भएको थियो। त्यसैगरी २०८०÷८१ मा पनि समान क्षेत्रफलमा खेती भए पनि उत्पादन बढेर २७६.१७ मेट्रिक टन पुगेको थियो। पछिल्लो आर्थिक वर्ष २०८१÷८२ मा खेती क्षेत्र विस्तार भई ३०४ हेक्टर पुगेको छ भने उत्पादन बढेर २८२.९३ मेट्रिक टन पुगेको छ । उत्पादकत्व पनि ०.९२ बाट ०.९३ मेट्रिक टन प्रति हेक्टर पुगेको छ ।
    फापर उत्पादन बढ्नुका पछाडि आधुनिक कृषि पद्धतिमा कृषकहरूको आकर्षण, जैविक मलको प्रयोग, र रोग–कीराको नियन्त्रणले महत्त्वपूर्ण भूमिका खेलेको छ । साथै, उच्च हिमाली क्षेत्रमा अनुकूल माटो र मौसमका कारण पनि फापर खेती सफल भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । फापर खेतीका धेरै फाइदा छन्। यो अन्न स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ । यसमा ग्लुटेन नहुने भएकाले मधुमेह र उच्च रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ । त्यसैगरी, फापरको पिठोबाट रोटी, ढिडो, र विभिन्न परिकार बनाउन सकिन्छ, जसले बजारमा राम्रो मूल्य दिलाइरहेको छ ।   स्थानीय किसानहरूको भनाइ अनुसार, फापर खेतीले अहिले घरायसी आम्दानी बढाउने र पहाडी भेगमा अन्य अन्नबालीभन्दा कम जोखिमयुक्त र अल्प अवधिमा उत्पादन हुने भएकाले किसानहरू फापरतर्फ आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्र सोलुखुम्बुले आगामी वर्षहरूमा फापर खेतीलाई अझ प्राविधिक र व्यावसायिक रूपमा प्रवद्र्धन गर्ने योजना बनाएको जनाएको छ ।