तिहारको रौनकसँगै सोलुखुम्बुमा बढ्दै ढाका टोपीको व्यापार
सोलुखुम्बु : तिहार पर्व नजिकिँदै जाँदा नेपाली परम्परागत पहिचानको प्रतीक ढाका टोपीको व्यापारमा चहलपहल बढ्न थालेको छ । सल्लेरी बजारका स्थानीय व्यवसायीहरूसँग गरिएको कुराकानीमा उनीहरूले यस वर्ष ढाका टोपीको बिक्रीमा सुधार आएको बताएका छन्।
ढाका कपडाबाट बनेको टोपीलाई नेपाली पुरुषहरूको राष्ट्रिय पोशाकको महत्त्वपूर्ण अङ्ग मानिन्छ। तिहारमा विशेष गरी भाइटीकाका अवसरमा दाजुभाइले नयाँ कपडा र टोपी लगाउने प्रचलन रहिआएको छ। यही कारणले यो समयमा बजारमा ढाका टोपीको माग स्वाभाविक रूपमा बढ्ने गरेको व्यवसायीहरू बताउँछन्।
सल्लेरी बजारका एक व्यापारी अनुसार, “तिहार सुरु हुनासाथ ग्राहकहरू ढाका टोपी किन्ने क्रम बढेको छ। अहिले दिनमा २०–२५ वटा टोपी बिक्री हुन्छन्।” उहाँका अनुसार, ढाकाको नयाँ डिजाइन र हलुका कपडाका टोपीहरू बढी मन पराइएका छन्।
ढाका टोपीको मूल्य यस वर्ष १०० देखि ५०० सय रुपैयाँसम्म रहेको छ। गुणस्तर र डिजाइनअनुसार मूल्य फरक–फरक हुने गरेको छ। केही व्यापारीहरूले भने काठमाडौंबाट टोपी ल्याएर बिक्री गर्ने गरेको बताएका छन् । स्थानीयहरूको भनाइमा, ढाका टोपी केवल पोशाकको अङ्ग मात्र नभई राष्ट्रिय गौरव र नेपालीपनको प्रतीक हो। तिहार जस्तो चाडले यस परम्परालाई अझै बलियो बनाइरहेको छ। व्यवसायीहरूको आशा छ — यो वर्षको तिहारले ढाका टोपीको व्यापारमा अझ उत्साह ल्याउनेछ र नेपाली संस्कृतिको प्रतीक यस परम्परा दीर्घकालसम्म जोगाइरहनेछ







