तिहार सुरु भएसँगै सल्लेरी बजारमा ओखरको दिऊलको व्यापार बढ्यो
हिन्दु नेपालीहरुको दोश्रो महान पर्व शुभदिपावली सुरु भएसँर्गै सल्लेरीका व्यापारीहरू ओखरको दिऊको बिक्रीमा व्यस्त भएका छन्। तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना भाइहरूलाई टीका लगाउँदा ओखर (अखरोट) अनिवार्य रूपमा दिने परम्परा रहेकाले यसको माग एकाएक बढेको व्यापारीहरूले बताएका छन्।
व्यापारीहरूको अनुसार, अहिले बजारमा दैनिक रूपमा ओखरको दिऊ निकाल्ने काम तीव्र बनेको छ । एक दिनमा दुई मानासम्म दिऊ निकाल्ने गरिन्छ। यस कार्यमा महिलाहरूको पनि राम्रो सहभागिता देखिएको छ । ओखरको दिऊ निकाल्न निकै समय लाग्ने भए पनि यसको बजार मूल्य राम्रो पाइने भएकाले व्यापारीहरू उत्साहित छन्।
हाल सोलुखुम्बु बजारमा ओखरको मूल्य प्रतिमाना रु. ५०० देखि ६०० सम्ममा बिक्री भइरहेको छ । व्यापारीहरूले भनेका छन् कि तिहारको समय नजिकिँदै जाँदा माग अझ बढ्ने भएकाले मूल्य केही बढ्ने सम्भावना पनि छ।ओखरको दिऊको धार्मिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै ठूलो छ । हिन्दू परम्पराअनुसार, भाइटीकाको दिन ओखर दिने चलन भाइको दीर्घायु र समृद्धिको प्रतीक मानिन्छ । ओखर बलियोपन, एकता र माया–सम्बन्धको प्रतीकका रूपमा पनि लिइन्छ । सोलुखुम्बुका स्थानीय व्यापारीहरू भन्छन्, “तिहार सुरु भएसगेैँ ओखरको दिऊ निकाल्न हतार हुन्छ । यो काम सजिलो छैन तर हरेक वर्ष यसैले हाम्रो पर्वलाई रमाइलो बनाउँछ ।”तिहारको रौनकसँगै ओखरको मिठासले बजारको माहोल झनै उल्लासमय बनाएको छ ।







