सोलुखुम्बुमा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने
सोलुखुम्बु : सोलुखुम्बुमा राति १० बजेसम्म मात्रै देउसीभैला खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले नेपालीहरुको दोस्रो महान चार्ड शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वलाई सभ्य, मर्यादित र सुरक्षित वातावरणमा मनाउन जिल्लावासीसँग आग्रह गरेको हो । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै भैलोलगायतका सांस्कृतिक कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।
यस्तै शान्ति सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा सामाजिक सद्भाव कायम राख्न देउसी–भैलो तथा अन्य सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित बनाउन नौबुँदे आचारसंहिता पालना गर्न भनिएको छ । जसअनुसार चाडपर्वमा दियो, मैनबत्ती तथा विद्युतीय बत्ती प्रयोग गर्दा आगलागीबाट जोगिन सावधानी अपनाउन, भुइँचम्पा, रकेट तथा पटकाजस्ता विस्फोटक पदार्थ ओसारपसार, बिक्री–वितरण र प्रयोग नगर्न÷नगराउन आग्रह गरिएको छ । त्यसैगरी, देउसी–भैलोलाई मौलिक संस्कृति र परम्पराको संरक्षण हुने गरी मर्यादित रूपमा सञ्चालन गर्न, मादक पदार्थ सेवन, होहल्ला, झैझगडा तथा जबर्जस्ती चन्दा वा दक्षिणा असुल नगर्न सचेत गराइएको छ ।
यसैगरी, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नबोक्न र ट्राफिक नियमको पूर्ण पालना गर्न निर्देशन दिइएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि गर्ने र गुणस्तरहीन वस्तु बिक्री–वितरण गर्नेमाथि कडा निगरानी राखिने जनाइएको छ । देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने समूह, क्लब तथा सङ्घसंस्थाले आवश्यक समन्वयका लागि सम्बन्धित स्थानीय तह र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आग्रह गर्नुभएको छ । अस्पताल, विद्यालय तथा स्वास्थ्य संस्थाजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउँदै ध्वनि प्रदूषण नगर्न र कुनै पनि जातजाति, धर्म, भाषा तथा समुदायलाई आक्षेप पुग्ने किसिमका अपमानजनक गीत, नारा र गतिविधि नगर्न भनिएको छ । सवारी आवागमन र पैदलयात्रीलाई अवरोध नपुग्ने गरी कार्यक्रम गर्न तथा निजी घर, कार्यालय र व्यावसायिक प्रतिष्ठानमा कार्यक्रम गर्दा सम्बन्धित व्यक्तिको पूर्वसहमति लिनुपर्नेछ ।
ताजा खबर
सबै- तिहारको अन्तिम साप्ताहिक हाट सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो
- सोलुखुम्बुमा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने
- दुधकोशी नदिको खोँचमा एक शव फेला, सशस्त्र र प्रहरीद्धारा निकाल्यो
- थुलुङ दुधकोशी गाउँपालिका ७ का कृषकले उत्पादन गरेका फूल काठमाडौं उपत्यकामा
- सोलुखुम्बुमा मतदाता नामवली सार्वजनिक, कुन स्थानीय तहमा कति ?






