शुक्रबार, २१ कार्तिक, २०८३ (1793902500)
शुक्रबार कार्तिक २१, २०८३

थुलुङ दुधकोशी गाउँपालिका ७ का कृषकले उत्पादन गरेका फूल काठमाडौं उपत्यकामा

 सोलुखुम्बु :  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७, देउसाका स्थानीय कृषकले उत्पादन गरेका फूल काठमाडौं उपत्यकामा ल्याइदैछ । वडा सरकारको पहलमा स्थानीय कृषकले व्यावसायिक रूपमा उत्पादन गरेका सयपत्री तथा मखमली फूल शनिबार गाडीमार्फत काठमाडौं पु¥याउन लागिएको हो । स्थानीय स्तरमा उत्पादन भएका फूलले उचित बजार र मूल्य पाऊन् भन्ने उद्देश्यले कृषकको उत्पादनलाई काठमाडौंको बजारसम्म लागिएको बताइएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका–७ का वडाध्यक्ष भोजराज कार्कीले काठमाडौं उपत्यकामा फूल आवश्यक पर्ने सर्वसाधारणलाई स्थानीय कृषकसँग प्रत्यक्ष सम्पर्क गरी फूल खरिद गर्न आग्रह गर्नुभएको छ । उहाँले सगरमाथाको काखमा उत्पादित स्थानीय फूलको प्रयोग गर्न तथा कृषकको मेहनतलाई प्रोत्साहन गर्न उपत्यकावासीलाई अनुरोध गर्नुभएको हो ।
    स्थानीय कृषकलाई व्यावसायिक फूलखेतीतर्फ आकर्षित गर्ने, उत्पादनको बजार सुनिश्चित गर्ने र कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले यो पहल अघि बढाइएको स्वार्णीम टोलका अध्यक्ष बुद्धिराम ठटालले बताउनु भयो । गाउँमै उत्पादन भएका फूललाई बजारसम्म पु¥याउन सके स्थानीय कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउनुका साथै फूलखेतीप्रति थप आकर्षण बढ्ने उहाँको विश्वास छ ।
    पछिल्लो समय तिहारमा सयपत्री र मखमली फूलको माग बढ्दै जाने भएकाले स्थानीय उत्पादनलाई बजारसँग जोड्नु आवश्यक रहेको वडा सरकारको बुझाइ छ । स्थानीय उत्पादनको प्रयोगले कृषकलाई प्रत्यक्ष आर्थिक लाभ पुग्नुका साथै गाउँको कृषि उत्पादनलाई राष्ट्रिय बजारमा चिनाउनसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
    स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, कृषि उत्पादनमार्फत गाउँको अर्थतन्त्र बलियो बनाउने र आयातित फूलको विकल्पका रूपमा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्यसमेत यस पहलले राखेको छ । कृषकको श्रम, सीप र लगानीबाट उत्पादन भएका फूलले बजार पाएमा आगामी दिनमा गाउँमा व्यावसायिक फूलखेती विस्तार गर्न थप हौसला मिल्ने विश्वास गरिएको छ । त्यसैले काठमाडौं उपत्यकामा रहनुभएका सर्वसाधारणलाई स्थानीय कृषकको उत्पादनलाई प्राथमिकता दिँदै सगरमाथाको काखमा फुलेका सयपत्री तथा मखमली फूल खरिद गर्न वडा सरकारले आग्रह गरेको छ ।