मंगलबार, ४ कार्तिक, २०८३ (1792433700)
मंगलबार कार्तिक ४, २०८३

 पर्यटकीय क्षेत्र लुक्ला सडकसञ्जालमा जोडियो,पहिलोपटक गाडी पुग्यो   

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाअन्तर्गत विश्वप्रसिद्ध पर्यटकीय क्षेत्र लुक्लामा पहिलोपटक सडकमार्गबाट गाडी पुगेको छ । नयाँ सडकको ट्र्याक खुलेसँगै निर्माण कम्पनी रिकोट ब्रदर्श जेभीको गाडी सोमबार लुक्ला बसपार्कसम्म पुगेको हो । निर्माण कम्पनीले दसैँअघि नै लुक्लासम्म सडक पु¥याउने प्रतिबद्धता जनाएको थियो । सोहीअनुसार सडक निर्माणको काम अघि बढाएको कम्पनीले लुक्ला बसपार्कसम्म गाडी पु¥याउन सफल भएको जनाएको छ ।

यसअघि सवारीसाधन सुर्केसम्म मात्रै पुग्ने गरेका थिए । सुर्केबाट लुक्ला पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । सडकको ट्र्याक लुक्लासम्म खुलेसँगै सगरमाथा क्षेत्रको प्रमुख प्रवेशद्वार सडक सञ्जालसँग जोडिएको छ । यसबाट स्थानीय बासिन्दाको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा पर्यटकीय गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार सडक निर्माण आयोजनाको सम्झौता रकम मूल्य अभिवृद्धि कर (भ्याट) तथा छुटसहित करिब दुई करोड ४४ लाख ८९ हजार ७९४ रुपैयाँ रहेको छ । लुक्ला क्षेत्र लामो समयदेखि हवाई सेवामा निर्भर रहँदै आएको छ । सडक यातायातको पहुँच विस्तार भएसँगै यस क्षेत्रको ढुवानी तथा आवागमनमा सहजता थपिनुका साथै पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।