गोरकशेप हाई अल्टीच्यूड क्लिनिकबाट एक बर्षको अवधीमा २३४ जनाले लिए स्वास्थ्य सेवा
सोलुखुम्बुः सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा सञ्चालित गोरकशेप हाई अल्टीच्यूड क्लिनिकबाट कुल २३४ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्। आर्थिक बर्ष २०८२÷८३ को अवधीमा उच्च हिमाली क्षेत्रमा आवतजावत गर्ने स्वदेशी तथा विदेशी नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस मौसमी क्लिनिकबाट सेवा लिनेहरूमा स्वदेशी नागरिकको संख्या उल्लेख्य रहेको गाउँपालिकाले जनाएको छ।
प्राप्त तथ्याङ्क अनुसार क्लिनिकमा उपचार गराउने कुल २३४ जनामध्ये १४८ जना नेपाली र ८६ जना विदेशी नागरिक रहेका छन्। लिङ्गका आधारमा हेर्दा सेवा लिनेहरूमा १८६ जना पुरुष र ४८ जना महिला रहेका छन्। नेपाली बिरामीहरूमा १४० जना पुरुष र ८ जना महिला छन् भने विदेशी बिरामीहरूमा ४६ जना पुरुष र ४० जना महिला रहेका छन्।
गाउँपालिकाले नेपाली नागरिकहरूका लागि यो स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ। अर्कोतर्फ, विदेशी पर्यटकहरूका लागि भने ५० अमेरिकी डलर शुल्क तोकिएको छ। विदेशी पर्यटकहरू प्रायः आफ्नै स्वास्थ्य बिमाको माध्यमबाट सेवा लिने गर्दछन् र जटिल तथा गम्भीर स्वास्थ्य अवस्था सिर्जना भएको खण्डमा सोही बिमा मार्फत उनीहरूको उद्धार तथा थप उपचारको व्यवस्था मिलाइने गरिएको छ।
उक्त क्षेत्रमा गाउँपालिकाले आकस्मिक तथा साधारण ओपीडी सेवा समेत नियमित रूपमा प्रदान गर्दै आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको वार्षिक तथ्याङ्क अनुसार साउन २०८२ देखि २०८३ असार सम्मको अवधिमा कुल ५,६३८ जनाले नयाँ ओपीडी सेवा लिएका छन्। जसमा २,७७० जना महिला र २,८६८ जना पुरुष रहेका छन् भने ३,०९२ जनाले पुराना बिरामीका रूपमा पुनः सेवा लिएका छन्। यसैगरी, सोही अवधिमा ८५३ जना नयाँ र ६९४ जना पुराना बिरामी गरी कुल १,५४७ जनाले आकस्मिक स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
अत्यधिक उचाइमा रहेको गोरकशेप क्लिनिकले लेक लाग्ने (हाई अल्टीच्यूड सिकनेस) तथा अन्य स्वास्थ्य समस्याबाट प्रभावित पदयात्री र स्थानीयवासीका लागि वरदान साबित हुँदै आएको छ।
ताजा खबर
सबै- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- गोरकशेप हाई अल्टीच्यूड क्लिनिकबाट एक बर्षको अवधीमा २३४ जनाले लिए स्वास्थ्य सेवा
- सम्पर्क अधिकृतमा ५० प्रतिशत कोटा आरोहीलाई दिन सगरमाथा आरोहीहरूको माग
- नेपालमा आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई मान्यता दिलाउन पहल, सङ्ख्या १४ पुग्ने
- सांसद प्रकाश सिंह कार्कीद्वारा हिमाल दर्शन माविलाई ६३ हजार बराबरको पाठ्यपुस्तक सहयोग





2026-08-22-03-46-25.jpeg)

