सम्पर्क अधिकृतमा ५० प्रतिशत कोटा आरोहीलाई दिन सगरमाथा आरोहीहरूको माग
सोलुखुम्बुः सगरमाथा आरोहीहरूले नेपाल सरकारले हिमालमा खटाउने सम्पर्क अधिकृतमध्ये ५० प्रतिशत कोटा अनुभवी आरोहीहरूका लागि छुट्याउनुपर्ने माग गरेका छन्। सगरमाथा आरोही संघको रजत महोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष माया शेर्पा, प्रथम उपाध्यक्ष दिवस पोखरेल र महासचिव शिवबहादुर सापकोटालगायतका पदाधिकारीहरूले हिमालमा अनुभवी सम्पर्क अधिकृतको उपस्थिति अत्यावश्यक हुने भन्दै आरोहीहरूको सहभागिता बढाउन आग्रह गर्नुभएको हो।
साधारण कर्मचारीको तुलनामा अनुभवी आरोही सम्पर्क अधिकृत बनेमा उद्धार तथा आरोहण सहजीकरणमा ठूलो सहयोग पुग्ने बताउँदै नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पनि सो मागमा आफ्नो संघको पूर्ण समर्थन रहेको जनाउनुभयो। यस्तै, महासचिव सापकोटाले जोखिम मोलेर देशको नाम राख्ने आरोही तथा तिनका परिवारको भविष्य सुरक्षित गर्न मजबुत कल्याणकारी कोषको स्थापना, दुर्घटनामा परेका आरोहीको निःशुल्क एवं गुणस्तरीय उपचार, सहिद आरोहीका बालबालिकाका लागि उच्च शिक्षा र छात्रवृत्तिको पूर्ण ग्यारेन्टी गर्न सरकारसँग जोडदार माग गर्नुभयो। सुरक्षित आरोहणका लागि आधुनिक प्रविधियुक्त तालिम, पूर्वाधार विकास, शीघ्र उद्धार तथा राहत व्यवस्थापनका साथै ऐतिहासिक सामग्री र गतिविधि समेटिएको आरोहण सङ्ग्रहालय स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा कीर्तिमानी आरोही तथा सांसद मिङ्मा डेभिड शेर्पाले पर्यटन ऐन संशोधनको प्रक्रिया अघि बढेकाले आरोहीका हकहितका विषय समेट्न सामूहिक सुझाव पेस गर्न आग्रह गर्नुभयो। वर्तमान सरकार पर्यटन विकासमा गम्भीर रहेकाले ऐनमा आरोहीका मुद्दा समेट्न आफूले पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
सगरमाथा आरोही संघको संरक्षकमा प्रधानमन्त्री तथा सल्लाहकार बोर्डमा पर्यटनमन्त्री र सचिव रहने व्यवस्था भए पनि त्यसको व्यावहारिक अनुभूति हुनुपर्ने धारणा वक्ताहरूले राखेका थिए। २५ वर्षे यात्राका क्रममा आरोहण क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्व तथा संघसंस्थाहरूलाई सो अवसरमा सम्मानित समेत गरिएको थियो।
ताजा खबर
सबै- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- गोरकशेप हाई अल्टीच्यूड क्लिनिकबाट एक बर्षको अवधीमा २३४ जनाले लिए स्वास्थ्य सेवा
- सम्पर्क अधिकृतमा ५० प्रतिशत कोटा आरोहीलाई दिन सगरमाथा आरोहीहरूको माग
- नेपालमा आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई मान्यता दिलाउन पहल, सङ्ख्या १४ पुग्ने
- सांसद प्रकाश सिंह कार्कीद्वारा हिमाल दर्शन माविलाई ६३ हजार बराबरको पाठ्यपुस्तक सहयोग





2026-08-22-03-46-25.jpeg)

