देशैभर फैलियो मनसुन, यी क्षेत्रमा हुनेछन् भारी वर्षा
काठमाडौंः हाल नेपालभर मनसुनी वायुको बलियो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्मै पुगेको छ र आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा समेत मनसुन विस्तार भएको छ। यससँगै यो वर्षको मनसुन प्रणाली देशैभर पूर्ण रूपमा फैलिएको छ।
नेपालमा साधारणतया जुन १३ तारिखमा पूर्वी भू–भागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुने गर्दछ। तर यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो गरी असार ५ गते (जुन १९ तारिख) पूर्वी भू–भागबाट नेपाल भित्रिएको थियो। सुरुमा कोशी प्रदेशको केही भू–भागमा विस्तार भएको मनसुन असार ८ गते (जुन २२ तारिख) कोशीको बाँकी सम्पूर्ण भू–भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानसम्म फैलिएको थियो। यस वर्ष देशभर मनसुन विस्तार हुन कुल १२ दिन लागेको छ।
अहिलेको मौसमी अवस्थालाई हेर्दा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको अवस्था छ। अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। आज बुधबार दिनभरिको पूर्वानुमान अनुसार देशभर पूर्णतया बादल लाग्नेछ। देशका विभिन्न भौगोलिक क्षेत्रमा वर्षा र हिमपातको आकलन गरिएको छ। महाशाखाका अनुसार देशको हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने देखिन्छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। आज विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने बताएको छ। महाशाखाले मौसममा आएको यो परिवर्तन र वर्षाको जोखिमलाई मध्यनजर गर्दै सबैलाई अद्यावधिक मौसम सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा







