शनिबार, ९ श्रावण, २०८३ (1780683300)
शनिबार जेठ २३, २०८३

  नगर प्रमुख शेर्पाकै कार्यकालमा बने एक दर्जनभन्दा बढी पुल

     सोलुखुम्बुः    सोलुदुधकुण्ड नगरपालिका भित्र नगर प्रमुख शेर्पाकै कार्यकालमा एक दर्जनभन्दा बढी पुलहरु बनेको छ । स्थानीय सरकारको निरन्तरको प्रयास स्वरूप नगर क्षेत्रभित्र एक दर्जनभन्दा बढी पुलहरू निर्माण सम्पन्न भई सञ्चालनमा आएका नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो । 
    नगर प्रमुख शेर्पाका अनुसार हाल निर्माणको अन्तिम चरणमा रहेको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ को भित्ताखर्क र गार्मालाई जोड्ने सोलुखोला मोटरेबल पुल उहाँको चालू कार्यकालकै सम्भवतः अन्तिम ठूलो पुल परियोजना हुनेछ । यो पुलको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएसँगै नगरभित्र अब साना–तिना कल्भर्ट बाहेक अन्य नयाँ ठूला पुलहरूको आवश्यकता खासै नपर्ने देखिएको छ । यसले नगरको यातायात सञ्जाललाई एउटा बलियो र स्थायी रूप दिएको छ ।
   नगरप्रमुख शेर्पाले आफ्नो कार्यकालमा भएका यी उपलब्धिहरूलाई सुखद क्षणका रूपमा स्मरण गर्दै विभिन्न वडाहरूमा रणनीतिक महत्त्वका पुलहरू निर्माण गरिएको जानकारी दिनुभयो। जस अन्तर्गत वडा नं. २ मा बेनी खोला पुल र शालाबेशी खोला पुल, वडा नं. ३ मा तामाखानी खोला पुल, वडा नं. ५ र ६ मा सोलुखोलाका पुलहरू, तथा वडा नं. ८ र ९ लाई जोड्ने चाट्याङघाट पुल निर्माण भइसकेका छन्। 
    यसैगरी वडा नं. ९ र १० जोड्ने सोलनासा पुल, वडा नं. १० मा जुके–दिमिल पुल र लुम्सा–जुके पुल, तथा वडा नं. १ मा छ्युलेमु–हेवा जोड्ने बक्स ब्रिज निर्माण भई सञ्चालनमा आइसकेका छन्। नगरपालिकाले अन्तर–स्थानीय तह जोड्ने गौरवको आयोजना अन्तर्गत वडा नं. १ र माप्यदुधकोशी गाउँपालिका वडा नं. १ हुँदै प्रसिद्ध पर्यटकीय क्षेत्र खुम्बु–पासाङ ल्हामु गाउँपालिका जोड्ने छिर्दीघाटस्थित दुधकोशी नदीको पुल समेत निर्माण गरिसकेको छ, जसले समग्र जिल्लाकै पर्यटन र यातायातमा ठूलो टेवा पु¥याएको छ ।
    यी पुलहरूको निर्माणसँगै सोलुदुधकुण्ड नगरपालिकाका बासिन्दा मात्र नभई छिमेकी स्थानीय तहका हजारौँ नागरिकहरूको आवतजावत समेत निकै सहज, सुरक्षित र व्यवस्थित बनेको छ । बर्खायाममा उर्लिने खोला र नदीका कारण ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता सधैँका लागि टरेको नगर प्रमुख शेर्पाको भनाइ छ । पूर्वाधार विकासको बलियो जगमार्फत नगरवासीको दैनिक जनजीवनलाई सरल, सुगम र समृद्ध बनाउने नगरपालिकाको यो प्रयास आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिबद्धता स्थानीय नेतृत्वले व्यक्त गरेको छ ।