सोलुदुधकुण्डको सहरी पूर्वाधार विकासमा ३६ करोडभन्दा बढीको बहुवर्षीय योजना स्वीकृत
सोेलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सहरी पूर्वाधार विकास र सडक स्तरोन्नतिका लागि ३६ करोड ९ लाख रुपैयाँको बहुवर्षीय योजना तथा कार्यक्रम कार्यविधि स्वीकृत भएको छ । नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सल्लेरी र पत्ताले बजार क्षेत्रको सहरी पूर्वाधार निर्माणका लागि २६ करोड ७४ लाख रुपैयाँ तथा सडक स्तरोन्नतिका लागि ९ करोड ३५ लाख रुपैयाँको योजना स्वीकृत भएको बताउनुभएको छ ।
स्वीकृत कार्यक्रमअन्तर्गत अब आयोजना छनोट समितिको बैठक बसेर आवश्यक योजना छनोट गरिने र त्यसपछि कार्यान्वयन प्रक्रिया अघि बढाइने नगरप्रमुख शेर्पाले बताउनुभयो ।
नगरपालिकाको सहरी विकास र सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर प्रस्ताव गरिएको उक्त कार्यक्रम नेपाल सरकारको बजेटमा समावेश गराउन विभिन्न सरकारी निकायका पदाधिकारीले सहयोग तथा समन्वय गर्नुभएको थियो । नगरप्रमुख शेर्पाले कार्यक्रमलाई बजेटमा समावेश गराउन सहयोग गर्ने भवन विभाग,ओखलढुंगाका तत्कालीन प्रमुख सीडीई सरोज पौडेल, सहरी विकास मन्त्रालयकी तत्कालीन प्रशासन शाखा प्रमुख उपसचिव इन्दिरा थापा, योजना महाशाखाका तत्कालीन प्रमुख तथा भवन विभागका तत्कालीन महानिर्देशकप्रति आभार व्यक्त गर्नुभएको छ । यो योजना सोलुदुधकुण्ड नगरपालिकाको व्यवस्थित सहरी विकास, सडक पूर्वाधार सुधार र समग्र समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गर्दै उनले यसको सफल कार्यान्वयनका लागि नगरवासीको साथ र सहयोगसमेत अपेक्षा गरिएको छ ।
ताजा खबर
सबै- सोलुखुम्बुमा मतदान स्थल तथा केन्द्र पुनरावलोकनको प्रक्रिया सुरु
- वी.पी. कोइराला संस्कृत विद्यापीठको प्राज्ञिक जर्नल ‘सर्वोच्च प्रभा’ को प्रथम अङ्क प्रकाशित
- सोलुदुधकुण्डको सहरी पूर्वाधार विकासमा ३६ करोडभन्दा बढीको बहुवर्षीय योजना स्वीकृत
- सोलुखुम्बुमा एक युवकमाथि फलामको पाइप प्रहार, एक जना नियन्त्रणमा
- सगरमाथा आधार शिविरमा एक जोडीको विवाह







