बुधबार, १९ कार्तिक, २०८३ (1793729700)
बुधबार कार्तिक १९, २०८३

 नागरिकले प्रहरीसँग भरोसा गरून्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : आईजीपी केसी

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सधैँ सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दज्र्यानी चिह्न प्राप्त गरेपछि सम्बोधन गर्दै उहाँले संविधान र कानूनप्रति अविचलित रहिरहने प्रण व्यक्त गर्नुभयो ।

प्रहरी सङ्गठनको मर्यादा र निष्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै आईजीपी केसीले नागरिकसँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण पूँजीमा रूपमा औँल्याउनुभयो । ‘आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा शुरू गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महुसस गरून्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्’, उहाँले भन्नुभयो ।

उहाँले आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र शुरू गर्ने घोषणा गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले सीमित स्रोत साधन, भवनको अभाव, लामो कार्यघण्टा, सरुवा बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यलगायत पक्षमा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आवश्यक स्रोत साधन, कानूनी स्पष्टता, कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गर्दै प्रहरी महानिरीक्षक केसीले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि राजनीतिक दलबाट सहयोगको अपेक्षा गर्नुभयो ।