शुक्रबार, ५ मङ्सिर, २०८३ (1795025700)
बिहीबार मङ्सिर ४, २०८३

दशौँ राष्ट्रिय खेलकुदको कोशी प्रदेश छनोटमा उसुतर्फ सोलुखुम्बुलाई दुई स्वर्णसहित पाँच पदक

 सोलुखुम्बु :  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिताको दोस्रो दिन उसतर्फ सोलुखुम्बुका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्णसहित पाँच पदक जितेका छन्। प्रतियोगितामा सोलुखुम्बुका खेलाडीले दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक हात पार्न सफल भएका हुन्। प्रतियोगितामा महिला ४८ केजी तौल समूहमा सुस्मिता नेपालीले स्वर्ण पदक जित्दा सोही तौल समूहमा समिता नेपालीले रजत पदक प्राप्त गर्नुभयो । त्यसैगरी, महिला ५७ केजी तौल समूहमा पेमा याङ्जी शेर्पाले स्वर्ण पदक जित्दै जिल्लाको पदक सङ्ख्यामा अर्को स्वर्ण थप्नुभएको छ । 
 त्यस्तै, पुरुष ६६ केजी तौल समूहमा टीकाराम राईले रजत पदक प्राप्त गर्दा सोही तौल समूहमा पेमा दोर्जी शेर्पाले कांस्य पदक जित्न सफल हुनुभएको छ ।  दोस्रो दिनको प्रतिस्पर्धामा सोलुखुम्बुका खेलाडीले देखाएको यो प्रदर्शनले जिल्लाको खेलकुद क्षेत्रलाई थप उत्साहित बनाएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष अर्जुन बाबु रोक्काले बताउनुभयो ।  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले सञ्चालन भइरहेको कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ । छनोट प्रतियोगितामा पदक जितेका तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।