चाडपर्व सुरक्षित र मर्यादित रूपमा मनाउन सोलुखुम्बु प्रशासनको आग्रह
सोलुखुम्बु ः नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लावासीलाई आग्रह गरेको छ । कार्यालयले चाडपर्वको अवसरमा जिल्लावासीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई नेपाली मौलिक संस्कृति, परम्परा, आपसी सद्भाव र एकता झल्काउने पर्वका रूपमा मनाउन आग्रह गरेको छ। चाडपर्वको समयमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा म्याद नाघेका वस्तु बिक्री वितरण गर्नेजस्ता उपभोक्ताको हितविपरीतका गतिविधि नगर्न र नगराउन कार्यालयले सचेत गराएको छ।
त्यसैगरी, यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ। चाडपर्वका नाममा धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न पनि कार्यालयले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले गैरकानुनी रूपमा चिट्ठा सञ्चालन गर्ने, जुवातास खेल्ने तथा अनलाइन सपिङको नाममा हुने अवैध कारोबार र विद्युतीय माध्यमबाट हुने ठगीप्रति समेत सचेत रहन जिल्लावासीलाई आग्रह गरेको छ। चाडपर्वका बेला घर तथा पसलमा चोरी हुन नदिन आवश्यक सावधानी अपनाउन र सार्वजनिक स्थलमा होहल्ला तथा हुलदंगा नगरी सभ्य र मर्यादित रूपमा पर्व मनाउन पनि कार्यालयले अनुरोध गरेको छ।
चाडपर्वलाई लक्षित गरी तयार पारिएको एकीकृत जिल्ला सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क भएर चाडपर्व मनाउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। साथै, कसैले कानुनविपरीतका गतिविधि गरेको वा गराएको पाइएमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ।
कार्यालयले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै कानुनविपरीतका कार्य गर्ने वा गराउने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारेको छ ।
ताजा खबर
सबै- शरद् ऋतुमा हिमाल आरोहणका लागि १,०९८ आरोहीले लिए अनुमति
- भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न महाकुलुङ गाउँपालिकाको आह्वान
- चाडपर्व सुरक्षित र मर्यादित रूपमा मनाउन सोलुखुम्बु प्रशासनको आग्रह
- थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
- प्रमुख अतिथि छनोटमा विवाद भएपछि ह्वाइट हिल्स स्कुलद्वारा क्षमायाचना




2026-10-09-08-52-42.jpeg)
2026-10-12-03-58-15.jpeg)

