शनिबार, २४ असोज, २०८३ (1791483300)
शुक्रबार असोज २३, २०८३

  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोलुदूधकुण्डका राष्ट्रसेवकले जम्मा गरे ३३ लाख रुपियाँ राहात

     सोलुखुम्बुः सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरुले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि करिब ३३ लाख रुपियाँ राहत रकम उपलब्ध गराएका छन् । 
   प्राकृतिक विपत्तिको कठिन घडीमा बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले सोलुदुधकुण्ड नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरुको सामूहिक सद्भाव र दायित्व अन्तर्गत राष्ट्रिय ऐक्यबद्धता स्वरूप विभिन्न कोषहरूमा आर्थिक सहयोग जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
     प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाका अनुसार नगरपालिका अन्तर्गतका स्थायी, करार, राहात तथा क्षिण सिकाइ अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूबाट २४ लाख ८९ हजार ३०१ रुपियाँ र नगरपालिकाका प्रशासनिक कर्मचारीहरूकोतर्फबाट सात लाख ९३ हजार २८ रुपियाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो
   सोलुदुधकुण्ड नगरपालिकाका जनप्रतिनिधिहरूबाट बाढी पीडितहरूको राहतका लागि स्थानीय विपद् कोषमा सात लाख २३ हजार रुपियाँ रकम जम्मा गरिएको छ । 
   उक्त रकम सहित नगरपालिकाको थप सहयोगमा बाढीपछि सम्पर्कविहीन रहेका सोलुखुम्बु स्थायी ठेगाना भएका परिवारलाई करिब २६ लाख रुपियाँ नगद राहत उपलब्ध गराएको छ । नगरपालिकाले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका ५२ जनाका परिवारलाई प्रतिपरिवार ५० हजार रुपियाँका दरले राहत उपलब्ध गराएको हो ।
   नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाका अनुसार नगर कार्यपालिकाबाट निर्णय गरेर सम्पर्कविहीन जिल्लाबासीका परिवारलाई राहत उपलब्ध गराएको हो । पर्यटन तथा निर्माण क्षेत्रको कामका सिलसिलामा रसुवा पुगेका सोलुखुम्बुका ५२ जना सम्पर्कविहीन व्यक्तिका परिवारलाई स्थानीय सरकारकातर्फबाट राहात उपलब्ध गराइएको प्रमुख शेर्पाको भनाइ छ ।
   विपद्को यस समयमा आफ्नो पदीय र नागरिक दायित्व बुझेर स्वतःस्फूर्त रूपमा राहत कोषमा रकम जम्मा गर्ने सबै जनप्रतिनिधिहरू, शिक्षक तथा कर्मचारीहरूलाई नगरपालिकाले धन्यवाद दिएको छ ।