भारी वर्षाको जोखिमः बेलुका ६ देखि बिहान ६ बजेसम्म सवारी साधन नचलाउन जिल्ला प्रशासन सोलुको आग्रह
सोलुखुम्बुः सोलुखुम्बुमा भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
अविरल वर्षाका कारण सोलुखुम्बु र आसपासका क्षेत्रमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नुका साथै खोला तथा नदीमा पानीको सतह बढ्न सक्ने प्रशासनले जनाएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, निर्माण कार्य र अन्य भौतिक संरचनासमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो।
विपद्को जोखिम न्यूनीकरणका लागि प्रशासनले अर्को सूचना जारी नभएसम्म जिल्लाका भित्री सडकमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन सञ्चालन नगर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ। मौसमको पूर्वानुमान बुझेर मात्र सवारी सञ्चालन गर्न, नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा सवारी साधन पार्किङ नगर्न र विपद्का बेला उद्धारमा प्रयोग गर्नुपर्ने सवारी साधनलाई प्राविधिक रूपमा दुरुस्त अवस्थामा राख्नसमेत आग्रह गरिएको छ।
प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न तथा जोखिमयुक्त स्थानमा नबस्न अनुरोध गरेको छ। बाढी तथा पहिरोको जोखिम देखिएमा तत्काल १२३४ वा १०० नम्बरमा सम्पर्क गर्न भनिएको छ। नदी तथा खोला आसपासका बासिन्दालाई स्थानीय तहसँग समन्वय गरी आवश्यक परे सुरक्षित आश्रयस्थलमा जान र विद्युत् सेवा अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्वतयारी गर्न आग्रह गरिएको छ।
स्थानीय तहहरूलाई स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एलईओसी) २४ सै घण्टा सञ्चालनमा राख्न तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) सँग नियमित समन्वयमा रहन निर्देशन दिइएको छ। मौसम तथा स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय लिन, जोखिममा रहेका बस्तीमा पूर्वसूचना प्रवाह गर्न तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ।
त्यस्तै, विपद् पूर्वतयारी तथा उद्धारका लागि आवश्यक यन्त्र, उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा मनसुन अवधिभर कर्मचारीको उपलब्धता सुनिश्चित गर्न प्रशासनले स्थानीय तहलाई निर्देशन दिएको छ।सुरक्षा निकाय तथा अन्य सरकारी कार्यालयलाई पनि मातहतका कर्मचारीलाई उच्च सतर्क अवस्थामा राख्न, असोज १५ गतेसम्म बिरामी, सुत्केरी र किरियाबाहेक अन्य बिदा स्वीकृत नगर्न तथा उद्धारका लागि आवश्यक मेसिनरी, औजार, सामग्री र पर्याप्त सुरक्षाकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
यसैगरी, गैरसरकारी संघसंस्था, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी तथा सञ्चारमाध्यमलाई विपद् पूर्वतयारी, गैरखाद्य राहत सामग्रीको व्यवस्थापन तथा पूर्वसूचना र जनचेतना फैलाउने कार्यमा प्रत्यक्ष समन्वय गरी सहयोग गर्न प्रशासनले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरद्वारा हस्ताक्षरित सूचनामार्फत जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण तथा जिल्लावासीको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सबै पक्षलाई आग्रह गरेको हो।
ताजा खबर
सबै- भारी वर्षाको पूर्वानुमानः क्षति न्यूनीकरणका लागि सोलुखुम्बुका आठवटै स्थानीय तह उच्च सतर्क
- भारी वर्षा र हिमपातको जोखिमका कारण सोलुदूधकुण्डका सबै विद्यालय शुक्रबार बन्द रहने
- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन सात पालिकामा सम्पन्न, नेचासल्यानमा सहमति प्रयास जारी
- भारी वर्षाको जोखिमः बेलुका ६ देखि बिहान ६ बजेसम्म सवारी साधन नचलाउन जिल्ला प्रशासन सोलुको आग्रह
- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
2026-09-24-02-34-14.jpeg)


2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)
