सोमबार, १७ कार्तिक, २०८३ (1793470500)
आइतबार कार्तिक १६, २०८३

सोलुखुम्बुका अधिकांश पसलमा छैन मूल्यसूची

 सोलुखुम्बु :  सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल÷पसलमा मूल्यसूची नभएका पाइएको छ ।  मूल्यसूची नहुँदा उपभोक्ता ठगिने क्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीविना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् । यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्योग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल, होटललगायतलाई वितरण गर्नुपर्ने भए पनि मूल्य सूची कायम गर्न सकिएको छैन ।
सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलमा विना मूल्यसूची खाद्यन्न तथा अन्य सामग्री बिक्री भइरहेका छन् । ग्रामीण भेगका सबै पसलमा मनोमानीरुपमा सामग्री बिक्री भइरहेका छन् । एउटै सामानको मूल्य पसलैपिच्छे फरक पाइएको उपभोक्ताको गुनासो छ । खाद्यन्नदेखि अन्य सामग्रीको मूल्य घटबढ भइरहन्छ । सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दूधकोसी, नेचा सल्यान, दूधकोसी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रका पसल तथा होटलमा पनि मूल्यसूची नभएको पाइएको छ । यता जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा पुग्दा अनिवार्य मुल्य सुचि राख्न निर्देशन दिने गरेको बताएको छ ।