बुधबार, १२ कार्तिक, २०८३ (1793038500)
मंगलबार कार्तिक ११, २०८३

सोलुखुम्बुमा भारी वर्षा र हिमपातको सम्भवना, उच्च सावधानी अपाउन आग्रह 

 सोलुखुम्बु :  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभागले २०८३ कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म कोशी प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ, भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको सम्भावना रहेको छ ।   प्रतिकूल मौसमका कारण चिसो बढ्नुका साथै ट्रेकिङ रुटहरूमा हिउँ जमेर यात्रा कठिन हुन सक्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र हिमाली क्षेत्रमा गएका पर्यटक जोखिममा पर्न सक्ने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामार्फत सर्वसाधारण, ट्रेकिङ तथा हिमाल आरोहणमा जाने पर्यटक र पर्यटन व्यवसायीसहित सम्बन्धित सबै सरोकारवालालाई आवश्यक पूर्वसतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    प्रशासनले जोखिमयुक्त मौसमको अवधिमा सकेसम्म ट्रेकिङ, भ्रमण तथा हिमाल आरोहणका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ। त्यस्तै, कुनै समस्या उत्पन्न भएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ नम्बर वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरिएको छ । हिमपात तथा हिमआँधीका कारण विद्युत्, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि प्रशासनले सचेत गराएको छ । भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

विशेषगरी ट्रेकिङ व्यवसायी, यातायात व्यवसायी, होटल सञ्चालक तथा पर्यटकलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिई आवश्यक सावधानी अपनाउन र स्थानीय प्रशासनसँग समन्वय तथा सम्पर्कमा रहन भनिएको छ । ्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित दुर्घटना र जनधनको क्षति न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार र सचेत बन्नुपर्ने प्रशासनको आग्रह छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले जारी गरेको सूचनामा मौसमसम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।