बिहीबार, १३ कार्तिक, २०८३ (1793124900)
बुधबार कार्तिक १२, २०८३

सुन्तलामा किरा लागेपछि सोलुखुम्बुका कृषक चिन्तित 

सोलुखुम्बु :  सुन्तला पाक्ने सिजनमा फलभित्र किरा लागेपछि सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ रणेमका सुन्तला कृषक चिन्तित भएका छन् । गत वर्ष भन्दा उत्पादनमा वृद्धि हुने आशा बोकेका व्यावसायिक सुन्तला कृषकहरू फलमा किरा लागेर अत्याधिक मात्रामा दाना झरेपछि चिन्तित भएका हुन्। जिल्लाको मुख्य सुन्तला उत्पादन हुने क्षेत्र रणेममा सुन्तलासँगै अमिलो जातका अन्य फलफुल निबुवा, जुनार कागती, लगायतका फलफुल भित्र औँसा परेर झर्न थालेको कृषक राजकुमार  राईले बताउँनुभयो ।
झरेको दाना फुटाएर हेर्दा दाना भित्र मासुमा लाग्ने जस्तो सेतो किरा हुने गरेको अर्का कृषक राजेश राईको भनाई छ ।  गत वर्षहरूको तुलनामा यस वर्ष दोब्बर फलेको भएपनि किराको प्रकोपका कारण लाखौ रुपैयाको नोक्सानी बेहोर्न बाध्य भएको कृषक अमृत  राईले बताउँनुभयो । औँसा किराले झरेका सुन्तलालाई प्लाष्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र ब्रेक गर्न सकिने भएकाले कृषकलाई प्लाष्टिक वितरण आवश्यक रहेको कृषी ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।  जिल्लाभित्र २ सय ९१  हेक्टरमा सुन्तलाको खेती हुँदैआएको छ । सोलखुम्बुमा  गत वर्ष करिब २२ हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा १० करोडको कारोबार भएको थियो । यस वर्ष सुन्तला पातलो फलेकाले उत्पादन घट्ने प्रारम्भिक अनुमान गरिएको छ ।