शुक्रबार, २३ असोज, २०८३ (1791396900)
बिहीबार असोज २२, २०८३

नाम्चेको पुरानो ‘बर्निङ पिट’ सफा गर्दै एसपीसीसी

    सोलुखुम्बु — सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले पर्यटकीय नाम्चे बजार नजिकै रहेको पुरानो ‘बर्निंग पिट’ मा लामो समयदेखि थुप्रिएका फोहोरहरू संकलन गरी डिस्पोज गर्न थालेको छ । एसपीसीसीका टोलीले विगतमा फालिएका बच्चाका डाइपर, स्यानिटरी प्याड, सिसा तथा अन्य अजैविक फोहोरहरू संकलन गरेर खाल्डो खनी पुर्ने र व्यवस्थापन गर्ने कार्य अघि बढाएको हो।
   एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाका अनुसार नाम्चे बजारबाट करिब ५ देखि ७ किलोमिटर टाढा रहेको ’ङयार्से’ भन्ने स्थानमा यो सरसफाइ तथा फोहोर व्यवस्थापनको काम भइरहेको छ । अभियानअन्तर्गत हालसम्म करिव ५ किलो फोहोर सकंलन गरिसकिएको र बाकी फोहोर व्यवस्थापनको काम तीव्र पारीएको अध्यक्ष शेर्पाले बताउनुभयो । 
   विगत ३० वर्षदेखि खुम्बु क्षेत्रको फोहोर व्यवस्थापनमा सक्रिय रहेको संस्थाले आफ्नै १२ देखि १५ जना कर्मचारी (स्टाफ) हरू प्रत्यक्ष खटाएर यो अभियान चलाइरहेको छ। बर्निंग पिटमा मुख्य गरी पछिल्लो समय थुप्रिएका डाइपर र स्यानिटरी प्याडको परिमाण बढी भएकाले त्यसैलाई खाल्डो खनेर व्यवस्थापन गर्ने काम भइरहेको र यो कार्य आगामी एक हप्ताभित्र पूर्ण रूपमा सम्पन्न गरिने अध्यक्ष शेर्पाको भनाई छ । 
   पर्यटकीय मौसममा नाम्चे बजारमा दैनिक ३ देखि ४ हजार किलोसम्म फोहोर संकलन हुने गर्दछ। संकलित फोहोरमध्ये जल्ने प्रकृतिका फोहोरलाई इन्सिलेटरमा जलाउने, नजल्ने फोहोरलाई मसिनो टुक्रा पारेर काठमाडौँ पठाउने र सिसा तथा डाइपरजस्ता फोहोरलाई ङयार्सेस्थित तोकिएको खाल्डोमा लगेर वैज्ञानिक तरिकाले डिस्पोज गर्ने गरिएको छ।
   वातावरण र जनस्वास्थ्यलाई ध्यानमा राख्दै एसपीसीसीले नाम्चे क्षेत्रमा स्रोतमै फोहोर छुट्याउने नियम करिब एक वर्षअघि देखि नै लागू गरिसकेको छ। यसका लागि एसपीसीसीले नाम्चेका प्रत्येक होटेल तथा घरहरूमा ३–३ वटा फरक–फरक डस्टबिन (बास्केट) वितरण गरेको छ। स्थानीय बासिन्दा र व्यवसायीहरूले घर तथा होटेलमै जल्ने, नजल्ने र सिसाजन्य फोहोर छुट्याएर राख्ने गर्छन्, जसलाई एसपीसीसीका कर्मचारीहरूले दैनिक रूपमा संकलन गरेर मुख्य व्यवस्थापन स्थल ङयार्से पु¥याउने गर्छन्।
   सूचना जारी गर्दै एसपीसीसीले अबदेखि पुरानो बर्निंग पिटमा जथाभावी फोहोर नफाल्न र विशेष गरी डाइपर तथा स्यानिटरी प्याडहरू तोकिएको स्थानमा मात्र पठाउन सम्पूर्ण स्थानीय बासिन्दा, होटेल व्यवसायी तथा पर्यटकहरूसँग आग्रह गरेको छ। विगत ३० वर्षदेखि निरन्तर सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रमका कारण नाम्चेमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति नरहेको बताउँदै अध्यक्ष शेर्पाले ’आफ्नो गाउँ आफैँ सफा राखौँ’ भन्ने भावनाका साथ आगामी दिनमा पनि वातावरणीय स्वच्छता कायम राख्न थप जनचेतनामूलक अभियान जारी राखिने बताउनुभयो।