शनिबार, १ कार्तिक, २०८३ (1792088100)
शुक्रबार असोज ३०, २०८३

  सोलुखुम्बुमा प्रहरीको ७१ औँ स्थापना दिवस, नागरीकको विश्वास जित्न निर्देशन 

    सोलुखुम्बु ः  नेपाल प्रहरीको ७१औँ स्थापना दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पाँच सङ्घसंस्था र एक पूर्व प्रहरीलाई सम्मान गरेको छ । सम्मानित हुने संस्थाहरूमा माप्य दुधकोशी गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, सोलु एफएम, जिल्ला अस्पताल फाप्लु र घरेलु हिंसा प्रभावित सेवा केन्द्र रहेका छन् । यस्तै प्रहरी चौकी बुङलाइ निशुल्क जग्गा  दान गर्नुहुने प्रशंसा  पत्रद्धारा सम्मान गरिएको छ । लामो समय प्रहरी सङ्गठनमा सेवा पु¥याएका एक जना पूर्व प्रहरीलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रहरी कर्मचारीलाई नागरीकको  विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। 
   प्रहरी कर्मचारीले गर्ने काम र देखाउने व्यवहारलाई नागरिकले प्रत्यक्ष रूपमा सरकारकै काम र व्यवहारका रूपमा मूल्याङ्कन गर्ने भएकाले प्रत्येक प्रहरी कर्मचारी जिम्मेवार, दक्ष र व्यावसायिक हुन आवश्यक रहेको उहाँले बताउनुभयो।
  विभिन्न राजनीतिक तथा सामाजिक उतारचढावका बीच पनि आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै प्रहरी सङ्गठनलाई वर्तमान अवस्थासम्म ल्याइपु¥याउन योगदान गर्ने सम्पूर्ण प्रहरी कर्मचारीप्रति प्रमुख जिल्ला अधिकारी थापा मगरले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।
   कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले जिल्लाको भौगोलिक विकटता, सीमित जनशक्ति तथा स्रोतसाधनका बाबजुद नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न र विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपाल प्रहरी राज्यप्रति उत्तरदायी, कानुनप्रति प्रतिबद्ध र नागरिक सेवामा समर्पित संस्थाका रूपमा स्थापित रहेको उल्लेख गर्नुभयो । 
   प्रहरीले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने, मानव अधिकारको संरक्षण गर्ने, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको डीएसपी बुढाथोकीले बताउनुभयो। साथै उहाँले ७१औँ प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारी, प्रहरी परिवार तथा अमर प्रहरीका परिवारजनमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो।
   यसैगरी, थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले विभिन्न जिम्मेवारीमा रहेर अहोरात्र खटिने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो। प्रहरी कर्मचारीबिनाको सुरक्षित समाजको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उहाँले समाजमा शान्ति सुरक्षाको चाहना हुँदाहुँदै पनि विभिन्न अप्रत्याशित घटना भइरहने भएकाले कठिन परिस्थिति तथा विपद्का समयमा नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा खटिने प्रहरीप्रति सदैव सम्मान गर्नुपर्ने बताउनुभयो।
   समारोहमा उपस्थित अन्य अतिथिहरूले नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको शुभारम्भमा कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका अमर प्रहरीहरूप्रति पुष्पगुच्छा अर्पण गर्दै उच्च सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरिएको थियो। दिवसका अवसरमा जिल्लाभरका उत्कृष्ट प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारजन तथा पूर्व प्रहरीहरूको उपस्थिति रहेको थियो।