बिहीबार, ८ असोज, २०८३ (1789928100)
सोमबार असोज ५, २०८३

  डाङ्गा पिकको सफल आरोहणसँगै प्रोफेसनल माउन्टेन गाइड तालिम सम्पन्न

    सोलुखुम्बुः  नेपाल पर्वतारोहण सङ्घ (एनएमए) र सस्टेनेबल टुरिजम प्रोजेक्ट (एसटीपी) को संयुक्त आयोजनामा सञ्चालित दोस्रो ’समर स्किल कोर्स’ (प्रोफेसनल माउन्टेन गाइड ट्रेनिङ)सम्पन्न भएको छ । तालिमका क्रममा ६ जना प्रशिक्षक र २९ जना शिक्षार्थी गरी कुल ३५ जनाको टोलीले ६,३५५ मिटर अग्लो डाङ्गा पिकको सफल आरोहण गरेको छ।
  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट स्वीकृत १,६९६ घण्टाको ’प्रोफेसनल माउन्टेन गाइड’ पाठ्यक्रम अन्तर्गत यो तालिम सञ्चालन गरिएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । 
   तालिमको सैद्धान्तिक, रक क्लाइम्बिङ र पूर्वतयारीका कक्षाहरू काठमाडौँमा सम्पन्न भएका थिए भने व्यावहारिक (फिल्ड–बेस्ड) तालिम ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा रहेको डाङ्गा पिक र त्यसका ग्लेसियरहरूमा गराइएको थियो। उच्च हिमाली वातावरणमा व्यावहारिक चुनौतीहरूको सामना गर्दै सीप र प्राविधिक क्षमता मापन गर्नका लागि यो आरोहण आयोजना गरिएको हो।
   तालिम तथा आरोहण सम्पन्न गरी एनएमएको तालिम टोली हाल काठमाडौँ फर्कने क्रममा छ। नेपाल पर्वतारोहण सङ्घले सफलतापूर्वक तालिम सम्पन्न गरी डाङ्गा पिकको चुचुरोमा पुग्न सफल सबै शिक्षार्थी, प्रशिक्षक सार्की शेर्पा, सञ्जीव गुरुङ लगायत सिङ्गो टोलीलाई बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ।