बिहीबार, ८ असोज, २०८३ (1789668900)
शुक्रबार असोज २, २०८३

 नेपाली कांग्रेस सोलुखुम्बुद्वारा १५औँ महाधिवेशन सहमति र एकताका साथ सम्पन्न गर्ने निर्णय

   सोलुखुम्बुः  नेपाली कांग्रेस सोलुखुम्बुले १५औँ महाधिवेशनलाई आपसी सहमति र एकताका साथ सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको छ । जिल्ला सदरमुकाम सल्लेरीमा बिहीबार जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको सभापतित्वमा बसेको जिल्ला कार्यसमितिको बैठकले वडा तहदेखि प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनसम्मका सबै चरणलाई सहमतिको साझा थलो बनाउने औपचारिक सङ्कल्प गरेको हो।
   केन्द्रीय कार्यतालिका अनुसार नै असोज ३ गते वडा, ७ गते पालिका तथा १० गते प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिइएको छ। यसै क्रममा बैठकले जिल्लाका ५२ वटै वडामा अधिवेशन सफलतापूर्वक सम्पन्न गराउनका लागि प्रतिनिधिहरू समेत चयन गरिसकेको छ । 
   विगतका अधिवेशनहरूमा क्रियाशील सदस्यता वितरण सम्बन्धी विवादका कारण साङ्गठनिक गतिविधि पटक–पटक प्रभावित हुने गरेको भए पनि यसपटक भने सदस्यता वितरणको कार्य पूर्णतः विवादरहित ढङ्गले सम्पन्न हुनुलाई सकारात्मक उपलब्धि मानिएको छ। 
  १४ औँ जिल्ला अधिवेशनबाट नेतृत्व सम्हाल्नुभएका सभापति शेर्पाले पार्टीभित्रको आन्तरिक गुटबन्दीलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै सर्वसम्मतिको जग बसाल्नुभएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ। विगतमा जस्तै निर्वाचनका बेला विभिन्न गुटबाट छुट्टाछुट्टै उम्मेदवार सिफारिस गर्ने परम्परालाई तोड्दै सर्वसम्मत उम्मेदवार चयन गर्ने परिपाटी सुरु गरिएकाले नै जिल्लामा कांग्रेसले निरन्तर सफलता हासिल गर्दै आएको उहाँहरूको भनाइ छ। उक्त बैठकमा पार्टीका नेताहरुले सोलु कांग्रेसमा लामो समयदेखि जरा गाडेर बसेको गुट–उपगुटको राजनीतिक अभ्यासलाई पूर्ण रूपमा अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा विशेष जोडदिनुभएको थियो