बिहीबार, ८ असोज, २०८३ (1788891300)
बुधबार भदौ २४, २०८३

   माप्यमा जिल्लाव्यापी खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेताले  १ लाख ३३ हजार पाउने

    सोलुखुम्बुः  माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा सोलुखुम्बु जिल्लाव्यापी अन्तर–स्थानीय तह स्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। आगामी मंसिर १९ गतेदेखि २४ गतेसम्म निर्माणाधीन कोर्कु रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा  निःशुल्क टिम दर्ताको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 
   प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेता टोलीले आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दुवै विधातर्फ प्रथम हुने टोलीलाई १ लाख ३३ हजार ३३३ रुपैयाँ, द्वितीय हुनेलाई ९९ हजार ९९९ रुपैयाँ, तृतीय हुनेलाई ६६ हजार ६६६ रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीलाई ३३ हजार ३३३ रुपैयाँ प्रदान गरिनेछ। यसका साथै विधागततर्फ उत्कृष्ट खेलाडीलाई ६ हजार ६६६ रुपैयाँ र उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा लिबरोलाई जनही ३ हजार ३३३ रुपैयाँसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ।
   प्रतियोगिताका लागि प्रत्येक टोलीमा कोच वा म्यानेजरसहित १० जना सदस्य रहनेछन्, जसमा कम्तीमा ७ जना खेलाडी सोही स्थानीय तहको र बढीमा २ जना अन्य नेपाली खेलाडी समावेश गर्न पाइने नियम बनाइएको छ। टिम दर्ता गर्दा खेलाडीहरूको नागरिकता, जन्मदर्ता वा राहदानीका साथै स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। सेमिफाइनल र फाइनल खेलहरू ’बेस्ट अफ फाइभ’का आधारमा खेलिनेछन् भने सम्पूर्ण खेलाडीका लागि अनिवार्य पोसाक तोकिएको छ।