समाचार

  • खुल्दैनन् पाठेघर खस्ने समस्या भएका रोल्पाली महिलाहरु

    news

    लिबाङ (रोल्पा), २८ वैशाख । रोल्पामा आङ (पाठेघर) खस्ने समस्या भएका महिला अझै पनि खुलेर स्वास्थ्य संस्थासम्म आउन सकिरहेका छैनन् । कसैको आग्रहमा स्वास्थ्य संस्थामा आइपुग्ने महिला पनि आफ्नो समस्याका बारेमा लजाउने, बोल्दा हिच्किचाउने र समस्या देखाउँदा श्रीमानले दोस्रो विवाह गर्ने डरले चिन्तित बन्ने तथा मानसिक असर पर्ने गरेको चिकित्सकले जनाएका छन् । 

    जिल्ला अस्पताल रोल्पाका डा नजिर खानले भनिन् – ‘जटिल समस्या नआउँदासम्म आङ खसेका महिलाले आफ्नो ब्यथा लुकाएर राख्छन् जसका कारण दिनप्रतिदिन उनीहरुको ब्यथा बल्झिँदै जान्छ । जब समस्या जटिल बन्छ तबमात्र उनीहरु स्वास्थ्य संस्थामा आइपुग्छन् ।’ 

    उनका अनुसार प्रत्येक महिला गर्भवती हुनुभन्दा अगाडि ६० ग्रामको हुने पाठेघर गर्भवती भइसकेपछि एक किलोको हुन्छ । अझ त्यसभित्र बच्चा बस्दा पाठेघरमा धेरै भार पर्न जान्छ जसका कारण यस अवस्थाका महिलाले ग¥हुङ्गो भारी बोक्दा, चुरोट बिडी खाएर बारम्बार खोक्दा, बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्दा, सुत्केरी अवस्थामा टुक्रुक्क बस्दा वा टुक्रुक्क बसेर काम गर्दा पाठेघर खस्न सक्ने सम्भावना धेरै रहन्छ । 

    यसका साथै बच्चा जन्मने बेलामा धेरै बल गर्दा पनि पाठेघर खस्न सक्छ, नखसे पनि तलतल झर्दै गएको हुन्छ जसका कारण सुत्केरी अवस्थामा खानपिन नमिल्दा वा विशेष ख्याल नपुग्दा बच्चा जन्मेको दुई÷तीन महिनासम्म पाठेघर वा आङ खस्ने सम्भावना बढी हुन्छ । कब्जियतको समस्या हुने महिलाको पनि पाठेघर खस्न सक्छ । यसका साथै कम उमरेमा विवाह गर्दा वा कम उमेरमा बच्चा जन्माउँदा वा बच्चा जन्माउँदा जन्मान्तर नराख्दा पनि पाठेघर खस्न सक्छ । तर समयमै उपचार पाएमा यो समस्या समाधान हुनसक्ने भए पनि सामान्य अवस्थाका महिला जाँचका लागि अस्पताल आउँदैनन् । 

    डा खानका अनुसार आङ खस्ने समस्याका बारेमा पछिल्लो पुस्ताका किशोरी भने केही सचेत बन्न थालेका छन् । यसरी जाँचका लागि आउने अधिकांश किशोरी पाठेघरको मुखको समस्या लिएर आउने गरेका छन् । उनीहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनीबाट गन्हाउने पानी बग्ने, पाठेघरमा केही झुन्डिएको जस्तो अनुभूति हुने समस्या देखिन्छ । 

    अस्पतालले सामान्य समस्या भएका महिलाको पाठेघरमा रिङ राख्ने, पाठेघरको ‘सपोर्ट’लाई बलियो बनाउन कसरत गर्न सिकाउनेलगायतका सेवा दिँदै आएको छ । पाठेघरको जटिल समस्या भएका महिलालाई जिल्लामै समय समयमा शिविर राखेर आवश्यक जाँच तथा शल्यक्रिया सेवा दिने गरेको डा खानले जानकारी दिइन् ।  

    यस आवको साउनदेखि अहिलेसम्म जिल्ला अस्पताल रोल्पामा ९२ जना र स्क्रिनिङ क्याम्पमा १५८ जना गरी २५० जना महिला जाँचका लागि आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सुरक्षित मातृत्व कार्यक्रमका फोकल पर्सन आशा थापाले जानकारी दिइन् ।  

    अशिक्षा, गरिबी, चेतना अभाव र भौगोलिक विकटताका कारण रोल्पाली महिला आङ खस्ने समस्याबाट अछुतो बन्न सकिरहेका छैनन् । महिनावारी नहुँदै छोरीको कन्यादान गरे स्वर्गका बाटा खुल्छन् भन्ने सङ्कीर्ण सोचका कारण परिवारको मञ्जुरीमा पूर्वी रोल्पाकी ११ वर्षीया तिलसरी (नाम परिवर्तन) को आजभन्दा ३० वर्ष पहिले मागी विवाह भयो । उनले त्यसबेला विवाहको महत्वका बारेमा बुझ्नुभएको थिएन । कक्षा ४ मा पढ्दै गरेका तिलसरी विवाह बन्धनमा बाँधिएपछि विद्यालय जाने अवसरबाट वञ्चित हुनुभयो । 

    घरमा तिलसरीका श्रीमान्, देवर र ससुरा हुनुहुन्थ्यो । उहाँकी सासूको भने करिब सात वर्ष पहिले नै निधन भइसकेको थियो जसका कारण तिलसरीलाई घुम्टो ओढेकै दिनदेखि पारिवारिक जिम्मेवारी बहन गर्नुप¥यो । झोलामा किताब र कापी बोकेर विद्यालय जाँदै गरेका तिलसरीलाई विवाहपछि डोको नाम्लो बोकेर घाँस दाउरामा जानुपर्ने बाध्यता सुरु भयो । यसरी पारिवारिक दबाबका कारण परिवारको जिम्मेवारीमा परेकी तिलसरी विवाह भएको करिब चार वर्षपछि आमा बनिन् । अब उनमा पहिलेको भन्दा अझ जिम्मेवारी बढ्यो । सुत्केरी अवस्थाका तिलसरीलाई घरभित्र मात्र होइन घर बाहिरको काममा समेत खट्नु पथ्र्यो । सानो दुधे बालकसहित तिलसरीलाई घाँस, दाउरा, मलसोत्तर र उकाली ओह्राली नगरी कामै नचल्ने भयो जसका कारण उहाँ सुत्केरी भएको तीन दिनपछि भातभान्छा लगायतका काम गर्न थालिन् । सुत्केरी भएको करिब १५ दिनपछि घरभित्र र बाहिरका सबै काममा खट्नुपर्ने बाध्यता थियो उनलाई । 

    उनका अनुसार एकदिन आटो पिसेर जातो यथास्थानमा राख्दै गर्दा तिलसरीको आङ खस्यो । तर उनले आङ खसेको कुरा कसैलाई भनिन् । आङ खसेको तीन दिनसम्म तिलसरी उठ्नै नसक्ने गरी बिरामी भएपछि करिब एक साताका लागि उनी माइती गइन। माइतीमा पनि उहाँले कसैलाई यस विषयमा जानकारी दिइनन् । बच्चा ठूलो हुँदै गयो । समयको क्रम बदलिँदै जाने क्रममा  करिब छ वर्षमा तीन सन्तानकी आमा बनिन् तर समस्याका बारेमा कसैलाई कुनै किसिमको जानकारी भएन । यस्तो समस्या थाहा पाए श्रीमान्ले दोस्रो विवाह गर्ने डरले कहिले पनि कसैसँग नखुलेको उनको भनाइ छ । 

    उनलाई हरेक पल सानोसानो काम गर्दा समस्या हुन्थ्यो ।  पछि झन् झन् ब्यथा बढ्दै गएर समस्या थपिँदै गयो । लगातार बिरामी परेर विस्तारामा परेपछि तिलसरीले एकदिन बाध्य भएर श्रीमान्लाई आफ्नो समस्याका बारेमा बताइन् अनि मात्र श्रीमान्लाई यस विषयमा थाहा भयो । त्यसको केही समयपछि पाठेघरको शल्यक्रिया भयो । तर दुर्भाग्य पाठेघरमा क्यान्सर भइसकेको रहेछ । 

    यस्तै, लिबाङ रोल्पामा बस्दै आएका प्यूठानका ३३ वर्षीया आशमती (नाम परिवर्तन) को पनि पहिलो सन्तान जन्मेको तीन वर्षपछि आङ खस्यो ।  श्रीमानहेक कसैलाई आङ खसेको कुरा भनिन्। तर समयमै उपचार गर्दा भने केही समस्या समाधान भएको छ । तर पनि पहिले जति सहज नहुने उनको भनाई छ ।

    यसरी आफ्नो समस्याका बारेमा खुल्न नसक्दा रोल्पाली महिला आङ खस्ने समस्याबाट प्रताडित बनिरहेका छन् । त्यसैले आङ खस्ने समस्याबाट बच्न र आङ खसिसकेपछि पनि नलजाएर स्वास्थ्य संस्थासम्म पुग्ने वातावरणको विकास हुनसके यस किसिमको समस्याबाट उनीहरुले छुटकारा पाउने थिए । रासस

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org