समाचार

  • राम्रो व्यानर नभएपछि राम्रो चलचित्र बन्दैन

    news

    ई वर्षदेखि नेपाली चलचित्रमा अभिनय नगरेका विल्सन विक्रम राई (तक्मे बूढा) अहिले आफ्नै निर्माणमा रहेको चलचित्र ‘रातो घर’ प्रदर्शनको तयारीमा छन् । उनले यसबीचमा हिन्दी चलचित्रमा पनि काम गरे । राईले निर्देशक विनय शर्माको चलचित्र ‘भाइ मस्ट बी क्रेजी’ मा अभिनेता शाहिद कपुर, सुनिल ग्रोवरलगायतका कलाकारसँग काम गरेका थिए । निर्देशक विनयबाट तारिफ पाएका उनी अर्को पनि हिन्दी चलचित्रमा अभिनय गर्दैछन् । नयाँ चलचित्रमा उनले नायिका आयशा टाकियासँग काम गर्दैछन् । राईसँग उनले नेपाली चललचित्रमा अभिनय कम गर्नुको कारण, प्रदर्शनको तयारीमा रहेको ‘रातो घर’ र हिन्दी चलचित्रमा काम गर्दाको अनुभवका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः
    चलचित्र ‘रातो घर’ प्रदर्शनको पूर्वसन्ध्यामा हुनुहुन्छ । कस्तो लागिरहेको छ आफ्नै निर्माणको चलचित्र प्रदर्शन हुन लाग्दा ?
    चलचित्र प्रदर्शन हुन लागिरहेकाले यसकै लागि दौडधुपमा छु । मैले फुल फेजमा चलचित्र नगरेको दुई वर्ष भयो । गर्दिन भन्दा पनि साथीभाइको मन राख्न र चलचित्र उद्योगमा आफ्नो सम्बन्ध कायम राख्न पनि गेष्ट रोलमै भए पनि अभिनय गर्नु परिरहेको छ । यसकै डविङ लगायतका काममा हिँडिरहेको छु । 
    पैसा दोस्रो पाटो हो, पहिले त काम र नाम नै आउँदोरहेछ । यसमै काम गरिरहेको छु । अहिले मैले आफैंले बनाएको चलचित्र ‘रातो घर’को डेट र मैले अन्य चलचित्र गरें भने त्यसको डेट पनि सँगै पर्ला अथवा समय दिन नसकुँला भन्ने पनि थियो । त्यही भएर पनि मैले दुई वर्षदेखि चलचित्रमा फुल फेजमा काम गरिनँ । स्टेन शोमा नै व्यस्त भएँ । त्यही चलचित्र ‘रातो घर’ जेठ १९ गते रिलिज हुँदैछ, त्यसकै लागि समय दिइरहेको छु । 
    लिड रोलमा अभिनयका लागि अफर आउँदाआउँदै नगर्नुको कारण सिनेमाको रिलिज डेट जुध्छ भन्ने मात्रै हो र ?
    एउटा कारण सिनेमाको रिलिज डेट एउटै पर्न सक्छ भनेर हो  । एउटै समय भयो भने समय दिन सकिँदैन भनेर पनि हो । र, अर्को कारण सन् ०१२ देखि १४ सम्म धेरै चलचित्रमा अभिनय गरें । चलचित्रको संख्या बढ्दै गयो । दर्शकले मसँग जति अपेक्षा गरेर हलसम्म जानु भयो त्यति मबाट पाउनु भएन । यसमा मेरो पनि कमजोरी होला । मैले भने जस्तो रोल पाइनँ होला । मैले पनि दिन सकिनँ होला अथवा निर्देशकको पनि कमजोरी होला । कथा कमजोर होला वा अन्य पनि कारण होलान् । मलाई लाग्यो म शो पिस मात्रै भइरहेको छु । 
    अर्को कुरा मलाई जिम्मेवारी जति थियो, रोल त्यति ठूलो थिएन । म पनि थोरै समयमा धेरै पैसा पाउने भएपछि चलचित्रमा साइन गर्दै गएँ । त्यो मानवीय स्वाभाव थियो जस्तो लाग्छ अहिले फर्किएर हेर्दा । जब मैले बुझ्न थालेँ । मैले सोचें कि एउटै चलचित्रलाई तीन चार महिना दिएर काम गर्नुपर्यो । तर, स्टेजमा शो गर्ने भएकाले यो पनि सम्भव थिएन । कि यसका लागि आफैं चलचित्र बनाउनु पर्नेथियो । त्यसैले मैले मेरो चलचित्र प्रदर्शन नभए नगर्ने हो भने चलचित्रमा अभिनय गर्न छोडें । 
    चलचित्रमा भन्दा पनि स्टेज शोमा आकर्षक पारिश्रमिक पाइन्छ भनेर चलचित्र कम गर्नुभएको त हैन ?
    त्यो पनि हो एउटा पक्ष । तर, त्यो भन्दा पनि अर्को मुख्य कारण त राम्रो कथा, राम्रो रोल, राम्रो व्यानर नभएपछि राम्रो चलचित्र बन्दैन । राम्रो चलचित्र बनेपछि गाली खाइन्छ । तर, स्टेज शोमा गाली खाइँदैन । त्यहाँ त गरिसकेको कार्यक्रमलाई पुनः पस्किने मात्रै त हो । 
    चलचित्र राम्रो नहुँदा तपाईंमात्रै गालीको भागिदार बन्ने त होइन होला नि ?
    चलचित्र समूहमा गरिने काम हो । होल सेटले राम्रो काम गरेन भने चलचित्र राम्रो बन्दैन । तर, हलमा त त्यो कुरा दर्शकले बुझ्नु हुन्न । त्यहाँ चलचित्रमा मुख्य भूमिकामा जो छ, उसको रोल अथवा अभिनय राम्रो लागेन भने दर्शकले उसलाई गाली गर्नुहुन्छ । त्यहाँ कथा कसको हो, निर्देशक को हो कसलाई हेरिँदैन । मुख्य रोल कसको उसलाई गाली गरिन्छ । 
    तर, यहाँ राम्रो बन्यो भने होल युनिटको कुरा आउँछ । निर्देशक र कथाको कुरा आउँछ । तर, अपजस भने नायक वा नायिका अथवा मुख्य चरित्र अभिनेताले मात्रै पाउँछ । जसको टाउको ठूलो छ, उसैले गाली खान्छ । त्यसैले यो रिस्क लिनुभन्दा राम्रो भन्ने लाग्यो र चलचित्र कम गरेको हुँ । 
    ‘रातो घर’ कस्तो चलचित्र हो ?
    सोसल ड्रामा जानराको चलचित्र हो । 
    के विषयवस्तु उठान गर्नुभएको छ ?
    ठूलो सहरभित्रको सानो विषयबस्तु उठान गरिएको छ । नेपाली सिनेमामा ठूलठूला गोली हानाहान र क्रस फायरका कथा उठान गरिन्छ । तर, यो हाम्रो समाज बाहिरको कुरा हो । अपबाद बाहेक यस्ता घटना हुँदैनन् । तर, हामी घरघरै, टोलटोलमा क्रसफायर भएको देखाइरहेका छौं । यो वास्तविकता हैन । त्यसैले हामीले रातो घरमा शहरको टोल र गल्लीमा हुने  सानो सानो ग्याङ फाइट, खुकुरी लिएर लखेट्ने जुन घटना हुन्छन् त्यसैलाई देखाउन खोजेका छौं । सानो सानो ग्याङहरु बीचको कथा नै हो । 
    चलचित्रमा अभिनय गर्दै गरेको मान्छे कसरी निर्माणमा हात हाल्नुभयो ?
    मैले जति पनि चलचित्र गरेको छु, त्यसमा सुरज सुब्बा नाल्बो दाइका ५० प्रतिशत चलचित्र छन् । उहाँसँग सामिप्यता बढ्यो । उहाँले मलाई यस्तो खालको चलचित्रको कथा छ भनेर रातो घरको कथा सुनाउनु भयो । मलाई कथा मनपर्यो । र, यो चलचित्रमा मिलेर काम गर्नुपर्छ होला भन्ने मैले प्रस्ताव गरेँ । उहाँले पनि हुन्छ भन्नुभयो । यसरी ‘रातो घर’को निर्माणमा लगानी गर्ने वातावरण बन्यो । 
    यसबीचमा विभिन्न देशमा चलचित्र रिलिज गरिसक्नु भएको छ ? कस्तो प्रतिकृया आएको छ ?
    अमेरिका, अष्ट्रेलिया, सिंगापुर, बेलायत लगायतका धेरै देशमा चलचित्र प्रदर्शन हुँदा सबै ठाउँबाट चलचित्रमा राम्रो प्रतिकृया आएको छ । राम्रो प्रतिकृया आएको थियो भने हामी पहिले नै नेपालमा प्रदर्शन गर्नेथियौं । 
    पहिला विदेशमा चलचित्र रिलिज गर्नुको कारण नेपालमा चलेन भने विदशको बजार विग्रिन्छ भनेर भन्नेहरु पनि छन् नि ?
    हैन । नेपालमा नराम्रो भए विदेशको बजार पनि बिग्रिन्छ । र, त्यही प्रभाव विदेशमा नराम्रो प्रतिकृया आए नेपालमा पनि पर्छ । नेपाली सिनेमाको मुख्य बजार त नेपाल नै हो । त्यसैले पनि हामी हाम्रो चलचित्र नराम्रो भएको भए पहिले नेपालमै लगाउने थियौं । 
    बीचको केही समय हराउनु भयो, हिन्दी सिनेमामा अभिनय गर्न हराउनु भयो हैन ?
    चलचित्रमा मेरो लुक्स नै अलि फरक खालको थियो । त्यसका लागि दाह्री जुंगा पाल्नुपर्ने थियो । त्यो नयाँ लुक्स बाहिर सार्वजनिक नगर्ने सर्त थियो । त्यही सर्तअनुसार पनि लुकेको हुँ म । 
    हिन्दी सिनेमा र नेपाली सिनेमामा काम गर्दा के फरक हुँदोरहेछ ?
    खासै त्यस्तो ठूलो फरक त केही पाइन मैले । तर, उहाँ ठूलो बजेटमा चलचित्र बन्छन् । यहाँ सानो बजेटमा बन्छन् । उहाँ कामको सम्मान छ । काम सुरुभएपछि त्यहाँ कामप्रति प्रत्यक व्यक्ति डेडिकेटेड हुन्छ । काम गर्ने व्यक्तिको सम्मान हुन्छ । जुन हाम्रोमा छैन ।  
    कसरी त्यहाँका सिनेमा विश्वले तारिफ गर्नेखालका बन्दा रहेछन् ? खास कारण केही रहेछ ?
    बजेट ठूलो हुन्छ । कथाले मागेको क्यान्भास अनुसार निर्देशकले मन खोलेर खर्च गर्नसक्छ । कलाकार कामप्रति लगनशील हुन्छन् । र, अर्को महत्वपूर्ण पक्ष भनेको सहयोगी भावना हो । अनुभवीले नयाँलाई सिकाउँछन् । सहयोग गर्छन् । अग्रज ठूलालाई पछिल्लो पुस्ताले आदर गर्छ । नयाँलाई अग्रज पुस्ताले मायाँ गर्छ । अग्रजलाई नयाँले त्यहाँ सम्मानले खुट्टा छुन्छ तर हाम्रोमा यहाँ आदभावले खुट्टा छोयो त के अलि नजिक भयो भने चाकडी गर्छ फलानो फलानोको खुट्टामा तेल लगाउँछ भन्छन् । 
    फेरि हिन्दी चलचित्रमा अभिनय गर्दैहुनुहुन्छ कि हैन ?
    गर्दैछु । केही समयपछि छायांकन हुन्छ । त्यसका लागि जान्छु । खासमा मैले अहिले गरेको भन्दा पहिला यसमा काम गर्ने कुरा भएको थियो । त्यही अनुसार तयारी पनि भएको थियो । तर, रिलिज डेटका कारण छायांकन पनि पछि सरेको हो । त्यसमा मेरो पनि अभिनय छ । 
    अब नेपालमा कम भारतमा धेरै हो कि क्या हो ?
    हैन । त्यस्तो त हैन । र, हुँदैन पनि । नेपाली चलचित्र नखेल्ने माया नगर्ने, माया मार्ने भन्ने त सोच्न पनि सक्तिनँ । कुरा आएका बेला उता पनि गर्दा केही सिक्ने अवसर पनि मिल्छ । नयाँ कुरा जाने आफैंलाई फाइदा हुन्छ भनेर हो । 
    अन्तिममा केही भन्नुछ ?
    जेठ १९ गते चलचित्र ‘रातो घर’ प्रदर्शन हुँदैछ । हेरेर राम्रो नराम्रो जस्तो लाग्छ प्रतिकृया दिनुहोला । तर, नेहेरी भने प्रतिकृया नदिनुहोला भन्न चाहन्छु ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org