समाचार

  • गुणस्तरीय सडक निर्माणका लागि स्थानीयको निगरानी

     
    रामधन राई÷खोटाङ
    चैत्र –१, मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ र भोजपुर जोड्ने दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रको कामलाई गुणस्तरीयता दिन स्थानीयले खबरदारी गरिरहेका छन् । ठेकेदार कम्पनी रमण गोल्डेन गुड जेबीले कालोपत्रेको जिम्मेवारी लिएको उक्त सडकका लागि मुआब्जा समेत नपाएका स्थानीयले सडक गुणस्तरीय बनाउन रखवारी गरिरहेका हुन् । 
    एक अर्ब ९ करोड १९ लाखको लागतमासम्झौता गरेको कालोपत्रे गर्ने म्याद गुज्रिनका साथै गुणस्तरमा समेत प्रश्न उठ्न थालेपछि स्थानीय झनै सजग बनेको सोही सडक खण्ड आसपासका स्थानीयले बताएका छन् ।‘आफ्नै घरजग्गाको मुआब्जा पनि नपाउनु, अनि आँखै अगाडी भएको गुणस्तरहीन काममा हाम्रो निगरानी पनि नहुनु त हाम्रै कमजोरी हुन्छ ।’ सो सडक खण्डमा पर्ने सोल्माका स्थानीय सप्तमणी राईले भन्नुभयो–‘हामीले निगरानी राख्दा–राख्दै त कन्ट्र्याक्टर कम्पनीको बेवास्ताले कतिपय स्थानमा गुणस्तरीय काम हुन सकेको छैन, अन्य स्थानमा त धेरै गुनासो आईरहेका छन्,।’
    राईका अनुसार सो खण्डमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का स्थानीयले ठेकेदार कम्पनी र सडक बिभागलाई नै गुणस्तर कायम गर्न दवाव दिँदा–दिँदै पनि ब्रेष्ट वाल र वालहरुमा कमसल काम भएको पाईएको छ । 
    २ बर्षभित्र कालोपत्रेको काम सम्पन्न गर्ने गरी २०७२ सालमा सडक बिभागसँग कालोपत्रेको सम्झौता गरेकोमा सोल्मा आसपासमा भने हाल सबबेशको काम भईरहेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सडकको अधिकांस स्थानमा झनै कामले गति लिन र गुणस्तरीयता पाउन नसकेको बताईएको छ ।
    सडकको सब बेसमा प्रयोग गरिएको गिटी गुणस्तर नहुनुका साथै पर्खालमा प्रयोग गरिएका सिमेन्टमा समेत मात्र नमिलाइएको भन्दै स्थानीयले चासो देखाएका छन् ।गुणस्तर नभएको बारेमा सम्वन्धित निर्माण कम्पनीलाई पटक–पटक जानकारी गराउँदा पनि नटेरेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताउनुभयो ।   रिजालका अनुसार नगरपालिका भित्रमा सञ्चालित कुनै पनि आयोजनाको गुणस्तरमा कमी दिईने छैन । 
    नेपाल सरकारले घरजग्गाको मुआब्जादिने ब्यवस्था नहुनका साथै दक्ष तथा सीपयुक्त जनशक्तिको अभाब, भुकम्पको प्रभाब लगायतका समस्याले गर्दा कामलाई तीब्रता दिन नसकिएको निर्माण कम्पनीले जनाएको छ । टेलिफोन तथा बिद्युतको पोल नसारेको, सडक किनारका घर–टहरा नभत्काईदिएकोले काममा ढिलाई भएको बताउने कम्पनीले कालोपत्रेको लागि आवश्यक गुणस्तरीय निर्माण सामाग्री नपाईनाले पनि काममा अवरोध भएको जनाएका छन् ।सडक कालोपत्रे प्रक्रियाको लागि सबै खाले कामदारको अभाव रहेकोकम्पनीको साईड ईन्चार्ज साङगे शेर्पाले जनाउनुभयो । 
     उक्त सडकखण्ड कालोपत्रेको लागि ४ खण्डमा बिभाजन गरी निर्माण सम्झौता गरिएको थियो ।  हालसम्म करिब ६० प्रतिशत मात्रै सडक कालोपत्रेको प्रक्रिया पूरा भएको साईड ईन्चार्ज शेर्पाको भनाई छ । 
     एक नम्बर प्याकेजको गत कात्तिकमा र दुई नम्बर प्याकेजको माघमा सम्झौता बमोजिम काम सम्पन्न गर्ने अवधि सकिएको छ । चार नम्बर प्याकेजको निर्माण अवधि भने २०७५ चैतमा सकिने निर्माण कम्पनी सम्बद्ध पक्षले जनाएको छ । 
    सबै काम पूरा गर्नको लागि अझै दुई बर्ष लाग्ने निर्माण कम्पनीले स्पष्ट पारेका छन् ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org