ताजा खबर

समाचार

  • बसपार्क बाहिर सवारी साधन राखे कारबाही !

     
    युवराज रोइला÷खोटाङ, १ चैत्र– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बसपार्कभन्दा बाहिर सवारी साधन पार्किङ गर्नमा कडाई गरेको छ । बसपार्क हुँदाहुँदै दिक्तेलका रत्नपार्क क्षेत्रमा बस तथा जीप पार्किङ गर्नेक्रम नरोकिएको भन्दै नगरपालिकाले जथाभाबी पार्किङमा कडाई गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्य गाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनेको बसपार्कमा पार्किङ गर्नका लागि पटक–पटक गरेको आग्रहलाई बेवास्ता गरेको पाइएपछि नगरपालिकाले बुधबार ६ वटा बसको चाँबी खोसेको थियो । यातायात व्यवसायीलाई आचार्य गाउँ र सोल्मा बसपार्कमा बस तथा जीपलाई हाटडाँडामा पार्किङ गर्न भने पनि बेवास्ता गर्दै रत्नपार्क क्षेत्रमै सवारी साधन राख्ने गरिएकाले मेयर दिपनारायण रिजालले यातायात व्यवसायीलाई ‘एक्सन’मा जाने अन्तिम चेतावनी दिएका छन् । 
    सडकमा पार्किङ गरेर बस तथा जिप राख्दा पैदल यात्रुको आवतजावतमा असर पु¥याएको तथा बजार अव्यवस्थित देखिएको भन्दै नगरपालिकाले पटक–पटक हरेक सवारी साधनलाई बसपार्कमा लैजान आग्रह गर्दैआएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय खोटाङले अस्थायी रुट पर्मिट लिएर मात्र सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । गाईघाट–बुईपा–दिक्तेल–टेम्मा–पञ्चमी–खोटाङबजार सडक, दिक्तेल–कटारी–लहान–धरान, दिक्तेल–कटारी–लहान–इटहरी–बिराटनगर, कटारी–दिक्तेल–मात्तिम–खिदिमा, दिक्तेल–कटारी–काँकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–इटहरी–काकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर र खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर सडकमा रुट पर्मिट लिएर मात्र सवारी साधन चलाउन व्यवसायीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । 
    वडाअध्यक्षमाथि आक्रमण
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाअध्यक्ष लिला चौहानमाथि अपहरण शैलीमा आक्रमण भएको छ । गएराति करिब दश बजेको समयमा घर फर्कदै गरेको अवस्थामा आफ्नै वडाका युवाहरुले बाटो छेकेर आक्रमण गरेपछि भाग्न सफल अध्यक्ष चौहान अहिलेसम्म सम्पर्क बिहिन भएका छन् । स्थानीय जोशीचन्द्र राई नेतृत्वको पाँच÷छ जना युवाहरुले अध्यक्ष चौहानमाथि आक्रमण गरेको प्रत्येक्षदर्शीले बताएका छन् । आक्रमण गर्नेमा जोशीचन्द्रसँगै विसम राई, बद्री खड्का लगायतका युवाहरु रहेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । घटनापछि स्थानीयले दिएको जानकारीको आधारमा जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा वडाअध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको र अन्य विषयमा अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए । अध्यक्ष चौहान बुधबार साँझ वडा कार्यालय जाने बाटो स्काभेटरमार्फत मर्मत गराएर घर फर्कनेक्रममा उक्त समूहले सोही स्थानको दारुलाडाँडामा बाटो छेकेर आक्रमण प्रयास गरेको जनाइएको छ । दारुलाडाँडाबाट भागेर हिँडेका अध्यक्ष चौहानलाई बानाचुङ बजारस्थित लालबहादुर खड्काको घरमा आक्रमण भएको प्रत्येक्षदर्शीले बताएका छन् । घटनास्थलमा भेटिएका अध्यक्ष चौहानले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट क्षतिग्रस्त रहेको प्रहरीले जनाएको छ । आक्रमणबाट भाग्न सफल अध्यक्ष चौहानले स्थानीयको मोवाइल नम्बरबाट राति सम्पर्क गरेपछि अहिलेसम्म सम्पर्क बिहिन रहेको नगर प्रमुख दिपनारायण रिजालले जानकारी दिए । 
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org