समाचार

  • कुलुङ अचार उद्योग महाकुलुङमा

    news

    १ फागुन, सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं ५ गुदेलमा कुलुङ अचार उद्योग संचालनमा आएको छ ।  १ दशक बढी समय पत्रकारीतामा आबद्ध रहेका  महाकुलुङ गाउँपालिका वडा नं ५ गुदेल घर भएका विवश कुलुङले पत्रकारिता सँगै अचार बनाउने उद्यम सुरु गर्नुभएको हो । जिल्लामै पहिलो पटक अर्गानिक अचार उत्पादन गर्ने उद्योग संचालनमा आएको दावी कुलुङले गर्नुभयो  । 
    दुर्गम विकास समाज गुदेल नामक संस्थाबाट  राष्ट्रिय युवा परिषद्मा प्रस्तावना पेश गरिएपछि विना व्याज ऋण उपलब्ध भएसँगै उद्योग स्थापनाको बाटो खुलेको अध्यक्ष कुलुङले बताउनुभयो । ५ लाख रकम विना व्याज प्राप्त गरिएपछि एक महिना अघि देखि अचार उत्पादन सुरु भएको छ । 
    स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थहरु लसुन, गाँजर, काउली, कागती,केराउ समेत प्रयोग गरी  खुर्सानी, तामा, लप्सी तथा टिम्बुरको  ९५ प्रतिशत अर्गानिक अचार उत्पादन गरिएको हो ।
     
    मुख्य बजारको रुपमा अहिले वुङ, छेस्काम, गुदेल र सोताङ रहेको छ  । विस्तारै  अहिले सदरमुकाम सल्लेरी, लुक्ला तथा  नेचाबाट समेत माग आएकोले आफु यसप्रति उत्साहित बनेको कुलुङले बताउनुभयो । विशेषगरी होटल व्यवासायी तथा घरायसी प्रयोजनाका लागि अचारको माग हुने गरेको छ । 
    सुरुवाती चरणमा भएकाले बजारको मागलाई मध्यनजर गर्दै ८ सय देखि ९ सय केजि मासिक विक्री गर्ने  योजना बनाइएको उहाँले बताउनुभयो । अचार तयार हुनका लागि एक हप्ता समय लाग्छ भने १८ महिना सम्म राखेर खान सकिन्छ । १८ महिना पछि भने अचारमा  ढुसी पलाउने र कुहिने समस्या देखिन सक्छ । अचारको प्रतिकेजि ३ सय रुपियाँ पर्ने उद्योगले जनाएको छ ।
    नयाँ सम्भावना खोजेर काम गर्न प्रति आफ्नो रुची रहेको भन्दै कुलुङले आगामी दिनमा अचार उद्योगमा थप जनशक्ति राखेर उत्पादन बढाउँदै स्थानीय स्तरमा उत्पादिन कृषि उपजको सदुपयोग बढाउने बताउनुभएको छ । उद्योगको नेतृत्व गरीरहेका कुलुङले एकजनालाई रोजगार समेत दिनुभएको छ । अचार बनाउनका तालिम प्राप्त गरी दक्ष बन्नुभएका महाकुलुङ गाउँपालिका वडा नं ५ का  एलिना राईले उक्त उद्योगमा रोजगारी पाउनुभएको छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org