समाचार

  • ‘कालिका एफएम’ देखि सिनेमाको पर्दासम्म

    news

    वर्तमान समय नेपाली फिल्म उद्योगमा लोकप्रिय अभिनेत्रीको कुरा गर्ने हो भने त्यसमा बेनिशा हमालको नाम पनि आउँछ । राजबल्लभ कोइरालासँग ‘स्वर’ फिल्मबाट डेब्यु गरेकी बेनिशाले ‘मोक्ष’, ‘महशुस’ र ‘कालोपोथी’बाट झनै दर्शकको माया पाईन् । मध्यम वर्गीय परिवारमा जन्मिएकी बेनिशा रेडियो कार्यक्रम प्रस्तोता, टेलिभिजन कार्यक्रम होस्ट र म्युजिक भिडियो हुँदै फिल्मको पर्दासम्म आईपुगेकी हुन् । उनले मुख्य भूमिका निर्वाह गरेको फिल्म ‘झ्यानाकुटी’ हलमा प्रदर्शनरत छ । यसै सन्दर्भमा बेनिशा हमालको फिल्मी यात्रालाई यहाँ प्रस्तुत गरिएको छ ।

     

    बेनिशा हमालको जन्म चितवन जिल्लाको गीतानगरमा वि.सं २०४७ श्रावण १० गते भएको थियो । बाल्यकाल देखि नै उनि निकै पढ्न रुचाउँथिन् । ज्ञानी थिईन् । अक्सर धेरै पढ्ने भएकोले उनका त्यति धेरै साथी थिएनन् । उनले गाउँकै गोल्डेन फिउचर बोर्डिङ स्कुलमा प्राथमिक तहसम्म पढिन् । गाउँकै अरुणोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेकी बेनिशा स्कुलको फस्ट गर्ल थिईन् । स्कुल पढ्दा उनलाई विद्यार्थी, शिक्षक सबैले औधी माया गर्थे । पढ्नमा अब्बल भएकोले पनि उनी सबैको नजरमा थिईन् ।

    एसएलसी पछि उनी प्लस टु पढ्न शान्ति एकाडेमी नारायणगढमा भर्ना भईन् । बेनिशाले अङ्ग्रेजी, समाजशास्त्र र पत्रकारीता विषय लिएर प्लस टु पढ्न थालेकी थिईन् । कक्षामा पत्रकारिता पढाउने शिक्षकले सधैँ समाचार पढ्न लगाउँथे । बेनिशा राम्रो समाचार पढ्थिन् । त्यसैले कक्षाका सबै साथीहरुले उनलाई भन्थेँ–”तिमी रेडियोमा काम गर”। उनको कलेज नजिकै ‘कालिका एफएम’ थियो । त्यो बेला ‘कालिका एफएम’ले ‘आरजे आईडल’ सुरु गरेको थियो । एक दिन साथीले ‘आरजे आईडल’को फर्म ल्याएर आए । बेनिशाले पनि फर्म भरिन् । ‘आरजे आईडल’मा ७ सय प्रतिष्पर्धीबाट छानिँदै उनी उत्कृष्ट १०० जनामा परिन् । त्यसपछि उनमा झनै हौसला थपियो । टप ३० हुँदै टप ३ आरजेमा परिन् । टप तीनमा पर्नेलाई एफएमले काम गर्ने अवसर दियो । र बेनिशा आरजे भईन् । उनी मिडियामा आवद्ध भईन् ।

    रेडियोमा काम गरे सँगै उनले सम्बन्ध बढाईन् । काठमाडौँबाट पुगेका सेलिब्रेटीको अन्र्तवार्ता लिन्थिन् । उनी चितवनमा चर्चित आरजेको रुपमा स्थापित भईन् । प्लस टुको परिक्षा आउँदै थियो । उनले ‘कालिका एफएम’बाट राजीनामा दिईन् । कारण उनको पढाई केहि कमजोर भएको थियो । पढाई र कामलाई सँगै लैजानु चुनौतीपुर्ण थियो । प्लस टुको परिक्षा सकियो । उनले थप अध्ययनका लागि काठमाडौँलाई गन्तब्य बनाईन । तर घर छाडेर लामो समय टाढा कहिल्यै नगएकोले उनको बुवाले मानेनन् । तर पछि बसुन्धारा स्थित मामाको घरमा बसेर पढ्ने भएपछि बुवाले पनि सहमति जनाए । अङ्ग्रेजी र पत्रकारीता विषय लिएर बेनिशाले स्नातक तह पढ्न थालिन् ।

    एकदिन उनको मोबाईलको घण्टी बज्यो । फोन थियो मिडियाकर्मी एवं कलाकार सुरेश दर्पण पोख्रेलेको । फोन रिसिभ गरिन् । सुरेश दर्पणले उनलाई ‘च्यानल नेपाल’ टेलिभिजनमा कार्यक्रम होस्ट गर्न प्रस्ताव गरे । उनले हुन्छ भनिन् । बेनिशाको चिनजान सुरेश दर्पणसँग ‘कालिका एफएम’मा काम गर्दा देखि नै थियो । त्यसपछि उनले ‘च्यानल नेपाल’को स्टुडियोमा गएर स्क्रिन टेस्ट पनि दिईन् । सेलेक्ट पनि भईन् । ‘च्यानल नेपाल’मा एक वर्ष काम गरिन् । त्यहाँ काम गर्दा गर्दै बेनिशाको चिनजान निर्देशक प्रशन्न पौडेलसँग भयो । प्रशन्न पौडेलले म्युजिक भिडियोमा मोडलिङ गर्न प्रस्ताव गरे । उनले स्विकारिन् । र पहिलोपटक म्युजिक भिडियोमा डेब्यु गरिन् ।

    पहिलो म्युजिक भिडियो पछि बेनिशाले ‘एमएम न्युडल्स’को विज्ञापनमा पनि मोडलिङ गरिन् । त्यो विज्ञापन सबैले मन पराए । समय वित्दै गयो । उनको पढाई पनि राम्रो चलिरहेको थियो । म्युजिक भिडियो गरिसकेको करिब ६ महिना पछि एकदिन उनको मोबाइलमा प्रशन्नको फोन आयो । प्रशन्नले ‘तिम्रो क्यारेक्टर मिल्ने एउटा फिल्म बनाउँदै छु, फिल्म गर्ने हो ?’ भनेर सोधे । उनले ‘म स्क्रिप्ट हेर्छु’ भनिन् । स्क्रिप्ट हेरिन्, मनपर्यो । तर समस्या आईपर्यो, बुवालाई कसरी सहमत गराउने । उनलाई बुवाले मास्टर्स गरेर मात्रै फिल्ममा हात हाल्न भनिरहेका थिए । पछि प्रशन्न पौडेल घरमै गएर बेनिशाको बुवालाई भेटेपछि अन्तमाः बुवाले पनि सहमति जनाए । अनि बेनिशाले फिल्ममा डेब्यु गरिन् । फिल्मको नाम थियो ‘स्वर’ । जसमा राजबल्लभ कोइराला उनको अपोजिटमा थिए । साथै केकी अधिकारी पनि मुख्य भूमिकामा थिईन् ।

    उनले ‘स्वर’ फिल्म केवल अनुभवका लागि गरेकी थिईन् । तर अनुभवका लागि गरेको फिल्म नै पछि एडिक्सन् भयो । पहिलो फिल्मबाट उनले आफ्ना गल्ति कमजोरीहरु थाहा पाईन् । उनले याक्टिङ कोर्ष गरिन् । राम्रो अभिनेत्री बन्ने कोशिमा लागिन् । तर म्युजिक भिडियोमा भने उनको क्रेज उतिकै थियो । उनले एक सय पचास भन्दा बढि म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । ‘स्वर’ पछि उनले ‘महशुस’, ‘मोक्ष’, ‘कालोपोथी’ जस्ता फिल्ममा काम गरिन् । पहिलो फिल्मबाट खासै सफलता नपाएकी बेनीशा दोस्रो, तेस्रोबाट दर्शकहरुको प्रिय बनिन् ।

    पहिले आफ्नो चाहना फिल्म क्षेत्रमा आउने नभए पनि जीन्दगीमा आफु सहि ठाउँमा रहेको उनी महशुस गर्छिन् । दर्शकहरुको माया, सदभाव र सकारात्मक टिप्पणीले आफुलाई ठुलो हौसला मिल्ने उनी बताउँछिन् । सुरु सुरुमा उनी बारे मिडियामा आउने गसिपले बेनिशालाई निकै पिरोल्थ्यो । तर अब उनलाई बानी परिसक्यो । मिडियामा आएका गसिपलाई रमाईलोको रुपमा लिन्छिन् । हाल उनी अभिनित फिल्म ‘झ्यानाकुटी’ हलहरुमा प्रदर्शन भइरहेको छ । बेनीशाले यो फिल्ममा गरेको अभिनयको सबैले प्रशंसा गरेका छन् । ‘झ्यानाकुटी’मा मालतीको भूमिका निर्वाह गरेर बेनिशाले ‘म पनि क्षमतावान अभिनेत्री हुँ है’ भन्ने दरिलो प्रमाण दिएकी छिन् । राम्रो ब्यापार गरिरहेको फिल्म सफल हुनुको क्रेडिट बेनिशालाई पनि जान्छ । ‘झ्यानाकुटी’को सफलताले बेनिशालाई थप उचाईमा पुर्याएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org