समाचार

  • जीवनशैली नै चिकित्सा, यस्ता छन् फाइदा

    news

    डा. विनोद घिमिरे , योग तथा पुनःस्थापना विशेषज्ञ​

    आफूसँगै भ​एका निकै सरल र सहज तरिकाहरु (जस्तैः खानपान​, कसरत​, जाडरक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थको त्याग​, तनावको व्यवस्थापन) बाट जटिल रोगहरुको उपचार​ गर्न सक्छौँ भन्ने कुरा हामी ख्याल गर्दैनौँ। देख्दा निकै सामान्य​ लाग्ने यस्ता विधि अहिले बिगबिगीका रुपमा रहेका मधुमेह​, उच्च रक्तचाप​, हृदयघात, डिप्रेसन​, हड्डीका समस्या आदि रोगको व्यवस्थापन तथा उपचारमा निकै सहयोगी हुन सक्छन्।

    'जीवनशैली चिकित्सा' भनेको कसरी हिँड्ने, कुन बेला उठ्ने, सुत्ने, के खाने, के नखाने जस्ता कुरालाई उपचारका रुपमा प्रयोग गर्ने तरिका हो। अमेरिकन कलेज अफ लाइफ स्टाइल मेडिसिनका अनुसार जीवनशैली चिकित्सा (लाइफ स्टाइल मेडिसिन) भनेको जीवनशैलीजन्य कुराको प्रयोग गरी रोगको उपचार गर्ने पद्दति हो। यसले रोग लागिसकेपछि गर्ने अहिलेको आधुनिक चिकित्सा पद्दति र रोग लाग्नै नदिने प्राचीन पूर्वीय चिकित्साका पद्दतिलाई जोड्ने काम गरेको छ​।

    विश्वमा पहिले सर्ने रोगहरुको बिगबिगी थियो। त्यसका लागि निश्चित जीवाणू, प्रदूषित वातावरण र कमजोर प्रतिरक्षा प्रणाली मुख्य कारक थिए। विश्वमा भ​एको आधुनिकीरण र चिकित्सा क्षेत्रमा भएको विकासले यस्ता रोगको महामारी नियन्त्रण भएको छ। अहिले संसारमा नसर्ने रोगको बिगबिगी छ। यस्ता नसर्ने रोगमा धेरै पक्षको एकसाथ सम्बन्ध रहन्छ। जस्तो कि, असन्तुलित आहार , व्यायामको कमी, मानसिक तनाव​, विश्रामको कमी, अत्यधिक धूमपान तथा मद्यपान आदि पर्छन्।

    सम्पूर्ण स्रोत र साधनले भरिपूर्ण भ​एका विकसित देशहरु अहिले पूर्वीय चिकित्सा (आयुर्वेद, योग आदि) विधामा वर्णन गरिएका स्वस्थकर जीवनयापनका पद्दतिप्रति आकर्षित छ्न्। फलस्वरुप पूर्वीय चिकित्सा आयुर्वेद, योग​सँग सम्बन्धित आहार​, विहार​, विचार आदिमा प्रशस्त अनुसन्धान भई जीवनशैली चिकित्सा प्रयोगमा आएको छ।

    हामी चाहिँ हाम्रै अमूल्य स्वस्थकर जीवनयापनका पद्दति प्रयोग नगरी ठूला-ठूला अस्पताल​, शल्यक्रिया, महँगा परीक्षणबाट मात्र स्वस्थ हुन्छौँ भन्ने ठान्छौँ।

    अस्ट्रेलियन लाइफ स्टाइल मेडिसिन एसोसिएसनका अनुसार जीवनशैली  चिकित्सा पद्दतिले अहिले देखिएका ७० प्रतिशत नसर्ने रोगहरुको व्यवस्थापन र उपचार गर्न सक्छ।

    जीवनशैली चिकित्सा भनेको आयुलाई बढाउने मात्र नभ​ई पीडा हटाई मानिसको जीवनमा खुसी बढाउने तरिका पनि हो। जीवनशैली चिकित्सा रोग प्रतिरोध वा रोग लग्नै  नदिने कुरामा बढी केन्द्रित छ।

    अहिले चलिआएको चिकित्सा पद्दतिमा चिकित्सक एक्लैले रोगको उपचार गर्छन् भने जीवनशैली चिकित्सामा चिकित्सकले अरु विभिन्न स्वास्थ्यकर्मी (पोषणविद्, व्यायामविद्, योगचिकित्साविद्, मनोपरामर्शादाता, सामाजिक कार्यकर्ता आदि) को नेतृत्वदायी भूमिका मात्र​ निर्वाह​ गर्छन्।

    त्यस्तै, चिकित्सकहरु समेत स्वस्थकर जीवनशैलीबारे अनभिज्ञ रहेको पाइन्छ। यसका लागि चिकित्सक तथा बिरामी दुवैमा जीवनशैली चिकित्सा सम्बन्धी जानकारी हुन आवश्यक छ।

    जीवनशैलीजन्य रोगहरु

    – मोटोपन​​,

    – उच्च रक्तचाप​,

    – मधुमेह​,

    – हृदयघात​,

    – मस्तिष्कघात​,

    – लागूपदार्थ दुर्व्यसनी,

    – बाथरोग​,

    – क्यान्सर​,

    – डिप्रेसन​,

    – स्मृतिनाश​,

    – उच्च कोलेस्टेरोल​,

    – घाँटी तथा कम्मर दुख्ने,

    – अम्लपित्त, आदि।

    जीवनशैली चिकित्साका अङ्ग

    १. व्यायाम​,

    २. खानपान,

    ३. तनाव व्यवस्थापन तथा विश्राम,

    ४. धूमपान​, मध्यपान तथा सुर्तीको लतबाट मुक्ति,

    ५. सामाजिक सहयोग।

    जीवनशैली चिकित्साका सुझाव

    कम्तिमा हप्ताको ५ दिन (दिनको ३० मिनेट) शारीरिक व्यायाम वा कसरत (जस्तैः हिँड्ने, दौडिने, जीम गर्ने, नाच्ने आदि) गर्ने।

    चुरोट, सुर्तीजन्य पदार्थको त्याग तथा मध्यपान नियन्त्रण गर्ने।

    मोटोपन वा अधिक तौल नियन्त्रण गर्ने।

    रेसादार तरकारी, फलफूल​, पानी, माछा प्रसस्त खाने।

    बोसोजन्य पदार्थ (जस्तैः चिज​, पनीर​, वनस्पति घ्यु आदि) को प्रयोग कम गर्ने।

    नियमित योग अभ्यास गर्ने।

     - दैनिक राम्ररी सुत्ने।

    जीवनशैली चिकित्साले यसरी काम गर्छ

    शरीरमा इन्सुलिनको प्रतिरोधलाई कम गरी रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ।

    मोटोपन घटाई त्यसबाट उत्पन्न हुने असरहरुलाई नियन्त्रण गर्छ।

    मुटुको नशा खुलाई रक्त सञ्चारको प्रवाह राम्रो गर्छ। जसबाट 'कोरोनरी हार्ट डिजिज'को व्यवस्थापन गर्न सहयोग पुग्छ​।

    बुढ्यौलीपनलाई रोक्न सहयोग पुर्‍याउँछ।

    शरीरमा एन्डोर्फिन, अक्सिटोनिन, सेरोटोनिनजस्ता रसायन बनाई खुसी र आनन्द प्रदान गर्छ। जसले जीवनको स्तर बढाउनुका साथै नयाँ आयाम ल्याउँछ।

    कर्टिसोल, स्ट्रेस हर्मोनको मत्रा घटाई नसर्ने रोगको न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग पुग्छ।

    शरीरका विभिन्न दुखाइ (जस्तैः माइग्रेन​, घाँटी तथा कम्मरको दुखाइ, फाइब्रोमाएल्जिया, घुँडा दुखाइ आदि) कम गर्छ।

    मानसिक तनाव​, डिप्रेसन​, पागलपन​, बिर्सिने रोग​, डर कम गर्न सघाउँछ।

    क्यान्सर हुनबाट रोक्न तथा भइसकेपछि गरिने उपचारका क्रममा हुने दुष्प्रभाव (जस्तैः थकाइ लाग्ने, वान्ता हुने, दुखाइ हुने, तनाव आदि) कम गर्छ।

    यिनै कुरालाई मध्यनजर गर्दा नसर्ने रोगको नियन्त्रणका लागि व्यक्ति स्वयंकै ठूलो भूमिका रहन्छ। हालै नेपाल सरकारले पनि प्रत्येक व्यक्तिलाई नसर्ने रोग नियन्त्रण गर्न पाँच प्रतिबद्धता ल्याएको छ।

    तर, यतिले मात्र पुग्दैन​। यसका लागि हरेक नागरिकमा नसर्ने रोगको निवारण तथा उपचारका लागि जीवनशैली चिकित्साका विभिन्न अङ्गबारे जानकारी हुनुपर्छ। नसर्ने रोगको उपचार धेरै खर्चिलो हुन्छ, जुन हाम्रोजस्तो अल्पविकसित देशका नागरिकका लागि बोझिलो बन्ने गर्छ। तर, अधिकांश यस्ता नसर्ने रोगहरु बेलैमा सन्तुलित जीवनशैलीका विभिन्न उपायबाट नियन्त्रण गर्न सकिन्छ।

    यसका लागि बिरामी तथा नागरिकलाई मात्र नभई चिकित्सक, चिकित्सा क्षेत्रका विध्यार्थी, नर्स​ लगायत जनशक्तिलाई पनि जीवनशैली चिकित्साका उपायहरु सिकाउन जरुरी छ।

    (डा. घिमिरे हाल राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा कार्यरत छन्।)

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org