समाचार

  • जब आँखै अगाडि ट्रिपरले मोटरसाइकललाई किच्न आट्यो...

    news

    विष्णु विश्वकर्मा –

    आइतबार दिउँसो पौने ३ बजे ललितपुरको भनिमण्डल चोक नजिकैको चक्रपथमा गाडी सामान्य अवस्थामै चलिरहेका थिए । चर्को गर्मी, गाडीको चापले गाडी बिस्तारै पालो पर्खेर आउने जाने गरिरहेका थिए । काम विशेषले सडकछेउसम्म पुग्नु परेको म सडक पार गर्ने पर्खाइमा थिए । चर्को गर्मी, गाडीको लाम सकिएपछि आरामले सडक पार गर्ने पर्खाइमा बसेको मैले सडक पार गर्ने अवस्था आउनै पाएन । अर्थात् आँखै अगाडि मोटरसाइकललाई ट्रिपरले धन्नै कच्याककुच्चुक पारेन ।

    गाडीहरु पालो पर्खेर अगाडि बढिरहेका थिए । सातदोबाटो, एकान्तकुना हुँदै बल्खु, कलंकी जाने चक्रपथ घुम्ने गाडीको लाम बढी नै थियो । सातदोबाटोबाट बल्खु जाने र बल्खुबाट सातदोबाटो चल्ने गाडी पालो पर्खिरहेका थिए भने भनिमण्डलबाट नख्खु जाने गाडी चलिरहेका थिए । 

    जब नख्खु र भनिमण्डल जाने आउने गाडीले सडक पार गरिसके । सातदोबाटो, बल्खु जाने आउने गाडी अगाडि बढ्न थाले । त्यही लाममा थिए एउटा ट्रिपर र मोटरसाइकल पनि । लामो जाममा रहेका ट्रिप्पर र मोटरसाइकल बल्खुबाट एकसाथ सातदोबाटो तिर जाँदै थिए । 

    बा ५५ प ९९४१ नम्बरको एभेन्जर मोटरसाइकल पछाडि थियो भने बा ३ ख ९९१४ नम्बरको ट्रिपर केही अगाडि थियो । जाम खुलेपछि मोटरसाइकल ट्रिपरको बायाँ साइडबाट अगाडि बढ्यो । 

    ट्रिपरको दायाँ साइडबाट भ्यान अगाडि बढेपछि मोटरसाइकलले ट्राफिक नियमविपरित बायाँ साइडबाटै ट्रिप्परलाई ओभरटेक गर्यो । उसको त्यो प्रयास असफल मात्रै भएन, ज्यानै जान सक्ने सम्म भयो । 

    जब मोटरसाइकल ट्रिपरको बायाँ टायरको नजिकैबाट केही मात्रै अगाडि बढेको थियो । त्यति नै बेला ट्रिप्पर पनि अगाडि बढ्यो । मोटरसाइकल भन्दा अग्लो ट्रिपरमा चालक राजेश तामाङ मात्रै थिए । बायाँ साइडबाट ओभरटेक गरेको उनले देखेनन् र सजिलै अगाडि बढ्न खोज्दा मोटरसाइकलको पछाडिको टायरलाई ट्रिपरको अगाडिको टायरले हानिहाल्यो । 

    शुरुमा मोटरसाइकल चालक निशान श्रेष्ठले बाइक कुदाउन नखोज्नु भएको होइन । तर जब बाइकको एक्सिलेटर घुमाउँदा घुमाउँदै ट्रिपरले बाइकको पछिल्लो टायर च्याप्यो । उहाँ आत्तिदै बाइक त्यही छाडेर फुत्त बाइकबाट पर भाग्नुभयो ।

    यदि उहाँले बाइक छाड्न नसकेको भए की गम्भीर घाइते बन्थे की ज्यानै गुमाउन सक्थे । तर मुश्किलले बाँच्नुभयो निशान । उहाँलाई सकुशल देखेपछि ट्रिपरका चालक राजेश तामाङ चिन्तित भएपनि ठूलो दुर्घटना नभएको भनेर ढुक्क हुनुभयो ।

    दुर्घटनामा ट्रिपरले च्यापेर मोटरसाइकलको पछाडिको टायर चल्न नसक्ने भएको छ भने प्रहरी र अन्य गाडी चालकले उचालेर मोटरसाइकललाई साइड लगाए । त्यो सँगै मोटरसाइकलका पछाडिका दुबै साइड लाइट र नम्बर प्लेट पनि कुच्चिए । मोटरसाइकलमा सामान्य क्षति भए पनि दुबै जनाको ज्यान जोगिएपछि अरु गाडी चालकले पनि ‘भाग्य बलियो रैछ’ भन्दै निशानलाई सान्तवना दिन थाले ।  दुर्घटनापछि गुड्न लागेका सबै गाडी रोकिएर मोटरसाइकल र ट्रिप्परको वरपर झुम्मिएपछि झण्डै आधा घण्टा गाडी जाममा परे । पछि ट्राफिक प्रहरी आएर जाम हटायो । अनि दुबै गाडी चालकलाई कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालय जावालाखेल पुर्‍यायो ।

    ट्रिपरको सातो लिने स्पीड !

    निर्माणका काममा बढीजसो प्रयोग हुने ट्रिप्परको गति सडकमा अरु सवारीको तुलनामा असामान्य हुने गरेको छ । चालककै लापरबाहीका कारण ट्रिपरले ठक्कर दिँदा धेरै जनाको ज्यान समेत जाने गरेको छ । यसरी ज्यान गुमाउनेमा कतिपय पैदलयात्रु पनि हुने गरेका छन ।

    चालकले निकै तिब्र गतिमा ट्रिपर चलाउँदा मोटरसाइकल, ट्याक्सी, कार र साइकलमा सवार भएकाहरुको ज्यान समेत जाने गरेको छ भने कति अंगभंग हुने गरेका छन् ।

    दुर्घटना स्थलमा भेटिएका श्याम कुमार श्रेष्ठले भन्नुभयो ‘हामीले पनि गाडी चलाउँछौँ तर ट्रिप्पर चालकको पारा भने देखि नसक्नु छ । सडक जस्तो भएपनि गड्याम गुडुम पार्दै सातो लिने गरी स्पीड बढाएर हिँड्ने ट्रिपर चालकको गाडी चलाउने शैली पटक्कै राम्रो छैन । यसरी जतिबेला जसको पनि ज्यान जान सक्छ ।’ उहाँले भन्नुभयो ।

    दुर्घटनामा धन्न ज्यान जोगाएका निशान श्रेष्ठले पनि ट्रिपर चालक राजेशप्रति गुनासो पोखे । ‘हैन हामीलाई मार्नैपर्ने तपाईहरुको के खाएका छौँ । सबैले हिड्ने बाटोमा अलिकति बिस्तारै चलाउँदा हुदैन र ?’ उहाँले भन्नुभयो ‘ट्रिप्पर चालकको गुण्डागर्दी शैली सच्चिनुपर्छ ।’

    सबैबाट कटु आलोचना खेपेका ट्रिपर चालक राजेशले भने आफू अरुजस्तो चालक नभएपनि गल्तीले दुर्घटना हुन पुगेको बताउनुभयो । ‘कसैलाई मारौं भनेको होइन, अगाडि बढ्न खोज्दा दुर्घटना भएको हो । जे होश ज्यान बच्यो । त्यै खुशीको कुरा हो ।’

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org